काठमाण्डौ । एउटा बैंकमा सीइओ भएको व्यक्ति अर्को बैंकमा सोही पदमा जान ६ महिना पर्खिनुपर्ने(कुलिङ पिरियड) सम्बन्धी नयाँ व्यवस्थाका कारण जागिर खानैका लागि चेपुवामा परेका बैंकर अनिलकेशरी शाहलाई राष्ट्रबैंकका गभर्नरले नै देखाएको बाटोले सुविधा प्रदान गरेको छ । 

गभर्नर डा. चिरञ्जिवी नेपालले आफूलाई भेट्न आएका नवील बैंकका संचालकलाई कुलिङ पिरियडमा भएको व्यवस्था छल्ने आइडिया दिएर पठाएका थिए । सोही अनुसार बैंकले अनिल शाहको सीइओको नियुक्ति खारेज गर्दै पुनः डेपुटी सीइओमा नियुक्त गरेको थियो । 

गभर्नरले कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको लुपहोल(छिद्र)को बिषयमा संचालकलाई नै आइडिया दिएपछि उनीहरुले ढुक्कसँग शाहलाई डेपुटी सीइओ नियुक्त गरेका थिए । तर, यो कार्यको राष्ट्रबैंककै एक पक्षले भने विरोध गरेको थियो । तर, गभर्नर नेपालले निकै ठूलो प्रेसर छ भन्दै एउटा व्यक्तिलाई जागिर खानैका लागि अनेक बखेडा झिकेर रोक्न नहुने भन्दै शाहको बचाउ गरेपछि अरु कसैको केही लागेन । 

अन्ततः पूर्व योजना अनुसार नै नवील बैंकको संचालक समितिको ४७९ औं बोर्ड बैठकले डेपुटी सीइओ शाहलाई फागुन ५ देखि लागूू हुने गरी एक्टिंग सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो । यो निर्णयसँगै अब शाहले अब केही महिना नवीलमा एक्टिंग सीइओको रुपमा जागिर खानेछन् र कुलिङ पिरियड सकिएपछि नवीलले उनलाई फूल सीइओको रुपमा बढुवा गर्नेछ । 

नेपाल राष्ट्रबैंकका प्रवक्ता नारायण पौडेलले कुलिङ पिरियडमा फूल सीइओ एउटा कम्पनीबाट अर्को कम्पनीमा सोही पदमा जानलाई मात्र प्रतिबन्ध लागेको उल्लेख गर्दै डेपुटी वा एक्टिंग बन्न कुनै रोकटोक नरहेको प्रष्ट्याए । ‘हाम्रो परिपत्रमा एउटा बैंकबाट राजीनामा गरेको सीइओले अर्को बैंकमा तत्काल डेपुटी वा एक्टिंग हुन पाउँदैन भन्ने कुरा उल्लेख छैन । हामीले कुलिङ पिरियडको व्यवस्था सीइओका लागि मात्र कार्यान्वयनमा ल्याएका हौ, डेपुटी वा अन्य पदका होइन ।’ पौडेलले भने । 

के भएको थियो ?
नियामकबाट कुलिङ पिरियड लागू गर्न निर्देशन आएपछि बैंकको संचालक समितिको बैठक बसी शाहलाई सीइओमा नियुक्त गर्ने निर्णय खारेजीको निश्कर्षमा निकालियो ।

तर, त्यसको केही दिनमै कुलिङ पिरियडसम्बन्धी व्यवस्थाको छिद्र केलाउँदै नवील बैंकको संचालक समिति बैठकले शाहलाई डेपुटीकै रुपमा बैंकमा भित्र्याउने र कामु वा निमित्त सीइओ दिएर काम गर्न लगाउने चलाख्याईपूर्ण निर्णय गर्यो । यो निर्णयसँगै सीइओको रुपमा नवील जान नपाउने शाहले डेपुटीको रुपमा जान पाउने कि नपाउने ? भन्ने बहस समेत छेडियो ।

केन्द्रीय बैंककै केही अधिकारीहरुले शाहलाई नवीलको डेपुटी सीइओ बन्न नरोके पनि त्यसपछि बैंकले उनलाई दिनसक्ने कामु वा निमित्त सीइओको जिम्मेवारी दिन नपाउने अडान लिएका थिए । तर, गभर्नरले नै नवील बैंकको पक्ष लिएर एउटा व्यक्तिको करिअरमाथि धेरै लफडा गर्न नहुने भनेपछि सबै तै चूप मै चूप भएका थिए । 

शाहको नियुक्तिको बिषयमा राष्ट्रबैंकभित्रकै मत बाझिएपछि यसले केही समय अन्यौलको सिर्जना गरेको थियो । राष्ट्रबैंकभित्रकै केही अधिकारीहरुले यसको विरोध गरिरहेको कुरा बुुझेपछि नवील बैंकको संचालक समितिले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई डा. नेपाललाई फोर्न गर्न लगाएको थियो । देउवाले समेत नवीलको निर्णयप्रति सकारात्मक बन्न डा. नेपाललाई निर्देशन दिएका थिए । डा. नेपालले केन्द्रीय बैंकको छलफलमा भन्ने गरेको ठूलो प्रेसर त्यही थियो । प्रधानमन्त्रीले नै शाहको पक्षमा लविङ गरेपछि राष्ट्रबैंक पनि बाध्य भएर मौन बसेको एक अधिकारीले दाबी गरे । 

कुलिङ पिरियडको धज्जी
कोही कसैले जागिर खान पाउनहुन्न वा कोही कसैले राम्रो ठाउँमा जागिर खायो भन्ने कुुरामा हाम्रो आपत्ति हुने कुरै भएन । तर, केन्द्रीय बैंकले बैंक तथा बित्तीय संस्थाभित्र सुशासन, तथ्यांक तथा सूचनाको दुरुपयोग लगायतका विकृति रोक्नैका लागि कुलिङ पिरियड सम्बन्धी व्यवस्था गरेको थियो । उसको उद्देश्य एउटा बैंकमा नेतृत्व गरेको बैंकर वा संचालक अर्को बैंकमा छोटो अवधिमा जाँदा जागिर छाडेको बैंकसँग सम्बन्धित सूचनाको दुरुपयोग गर्नसक्ने र यसले अस्वस्थ प्रतिस्पर्धाले मलजल पाउने भएकाले यसलाई रोक्ने थियो । तर, नवील बैंकले कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको छुद्र पत्ता लगाउँदै त्यसको उद्देश्यमाथि धज्जी उडाएको छ । सरसर्ती हेर्दा यहाँ मेगा बैंकको सीइओ छाडेका शाह नवील बैंकमा डेपुटी सीइओमा गएका कारण कुलिङ पिरियडले छुँदैन भनिएको छ, जुन तर्कसंगत छैन । राष्ट्रबैंकको आशय एउटा बैंकको व्यवस्थापन तहको नेतृत्व गरेको व्यक्ति अर्को बैंकमा जाँदा हुनसक्ने सूचना तथा स्रोतको दुरुपयोग रोक्ने भन्ने थियो । यसरी अहिले हेर्दा मेगा बैंकको व्यवस्थापन नेतृत्व गरेका शाह नवील बैंकको डेपुटी सीइओ हुँदै एक्टिङ सीइओ भए पनि व्यवस्थापनको नेतृत्वकर्ता पदमै पुुगेका छन् । ‘एउटा बैंकको व्यवस्थापनको नेतृत्वकर्ता अर्को बैंकमा समेत त्यही जिम्मेवारीसहित काम गरिरहँदा कुलिङ पिरियड लाग्दैन भन्नु यो व्यवस्थाकै धज्जी उडाउनुु हो ।’ राष्ट्रबैंकका एक कार्यकारी निर्देशकले भने–‘गभर्नर समेत मिलेर सबैलाई बेवकुफ बनाउने खेल भयो ।’