काठमाण्डौ । करिब दुुईतिहाई बहुमतले चौथोपटक प्रधानमन्त्री बन्न लागेका कांग्रेस सभापति शेरबहादुर देउवालाई बजारले न्यानो स्वागत गरेको छ । 

लामो समयसम्म सामान्य गिरावट र स्थिर अवस्थामा रहेको बजारले मंगलबार बुर्कुसी मारेको हो ।

नयाँ प्रधानमन्त्री चयनसँगै दलहरुबीच असार १४ गतेकै मितिमा स्थानीय निकायको दोश्रो चरणको निर्वाचन गर्ने, आगामी माघ ७ गते प्रदेशको निर्वाचन गर्ने र त्यसमा राजपा लगायतका दलहरुको समेत सहभागिता हुने सहमति भएपछि केही संग्लिएको राजनीतिक वातावरणको प्रभाव बजारमा परेको हो । यस्तै, सेयर बजारमा विदेशी लगानीका लागि समेत बाटो खुल्ला भएको घटनाको प्रभावले बजारमा उछाल आएको देखिएको छ । 

मंगलबार नेप्से परिसूचकमा उछाल मात्र आएन, कारोबार रकममा पनि फराकिलो अन्तरको वृद्धि देखिएको छ । 

नेप्से परिसूचक ३४.७२ अंकले वृद्धि भयो भने कारोबार रकमले पनि ९१ करोड माथिको उचाई चुम्यो । 

मंगलबार उत्पादनमूलक बाहेक सबै समूहको सूचकमा उत्साहजनक वृद्धि भयो । वाणिज्य बैंक समूह ३५.८२ अंकले वृद्धि हुँदा बिमा समूह र विकास बैंक समूह क्रमशः १७२.५७ अंक र ३५.३८ अंकले बढ्यो । यस्तै, बित्त समूह, जलविद्युत, होटल र अन्य समूह क्रमशः ७.३१, ३५.६८ र १५.६२ अंकले बढेका छन् । उत्पादनमूलकमा चाहि १४.०६ अंकको गिरावट देखियो । 

मंगलबार ''क'' वर्गका कम्पनीहरु दबदबा रह्यो । यही कारण सेन्सेटिभ इण्डेक्स ७.८३ प्रतिशतले वृद्धि भयो भने समग्र कारोबारमा पनि सुधार हुँदा फ्लोट इण्डेक्स २.६८ अंकले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार बजारमा १ सय ४८ कम्पनीका कुल १४ लाख ९६ हजार ८ सय ९३ कित्ता सेयर ९१ करोड १६ लाख ८२ हजार १६ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी सिभिल बैंक लिमीटेडले कारोबार गर्यो । यो बैंकले ७ करोड २५ लाख बढीको कारोबार गर्यो । स्ट्याण्डर्ड चार्टर्डले ६ करोड ८२ लाख बढीको कारोबार गर्यो । सिद्धार्थ इन्स्योरेन्सले ३ करोड ९५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ३९ लाख, हिमालय जनरल इन्स्योरेन्स २ करोड ३२ लाख, सिद्धार्थ बैंकले २ करोड ३१ लाख बढीको कारोबार गर्यो । यस्तै, मुक्तिनाथ विकास बैंकले २ करोड १७ लाख, छिमेक लघुवित्त विकास बैंकले २ करोड ११ लाख बढीको कारोबार गर्यो । मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंकले, ३ स्थान बिमा कम्पनीले र २ स्थान विकास बैंकले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार १३ कम्पनीले सामान्य प्रतिशतमा सम्पत्ति गुमाए भने बाँकी सबै कम्पनीको सेयर मूल्य बढ्यो । कमाएकामध्ये तीन कम्पनीले पैसा छापे । मुक्तिनाथ विकास बैंकको मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, आरएसडिसी लघुवित्त बित्तीय संस्था, वल्र्ड मर्चेन्ट बैकिंग र एण्ड फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । सिनर्जी हाइडोले ९ प्रतिशतको हाराहारीमा कमायो भने महिला सहयात्रा माइक्रोफाइनान्सको मूल्य साढे ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो। 

बजारले उछालको गति लिंदा बोटलर्स नेपाल(तराई) लिमीटेडको सेयर मूल्य ३ प्रतिशतको हाराहारीमा घट्यो ।