काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले १७ वैशाखमा राजीनामा दिएका थिए । तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण, मधेसी मोर्चासँग सहमतिको प्रयास र भावी सरकार बन्ने प्रक्रियामै असर पुग्ने आन्तरिक मूल्यांकनपछि देउवाले निधिलाई फिर्ता गरेका हुन् ।

आफ्ना दूतको प्रयासपछि आफैँ र प्रधानमन्त्रीसहित बिहीबार बालुवाटारमा छलफल गरेपछि देउवाले निधिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा पुनः फर्काएका हुन् ।

निधिले पदबाट राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत गरेका थिएनन् । संविधान संशोधनमा अझै निधिको सक्रियता खाँचो रहेको र निर्वाचनको मुखैमा गृहमन्त्री फेर्दा अव्यावहारिक हुने निष्कर्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देउवा पुगेपछि उनलाई फर्काइएको हो । निधिले बिहीबारदेखि पुरानै पदमा फर्किएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

सभापति देउवाले अब आफू प्रधानमन्त्री बनेपछि निधिलाई उपसभापति बनाउने आश्वासन दिएका छन् । उपसभापति पाउने र पहिलेको जस्तो वरीयता विवादमा कमल थापासँग अल्झन नपर्ने भएपछि निधिलाई पुनः यही पदमा फर्कन सहज भएको छ । राप्रपाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ‘आफू प्रधानमन्त्री भएपछि उपसभापति बनाउँछु भनेर सभापतिले वाचा नै गर्नुभएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘सरकारबाट कमल थापा फिर्ता भएपछि वरीयताको किचलो पनि अब भएन, यसले थप सजिलो भएको छ ।’ ३१ वैशाखको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र ३१ जेठको स्थानीय तहको निर्वाचन आफूले गराउने पक्षमा सभापति देउवा छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।