काठमाण्डौ । देवः विकास बैंकलाई प्राप्ति गरेर कुमारी बैंक लिमिटेडले आज आइतबारबाट एकीकृत कारोबार सुरु गरेको छ।

कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जब राणा तथा साविकको देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ.प्रा.) ले संयुक्त रुपमा समुद्घाट्न गर्दै एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । 

गत जेठ १९ गतेसम्म सम्पन्न कुमारी बैंकको विशेष साधारणसभा र देवः विकास बैंकको वार्षिक साधारणसभाले प्राप्ति प्रक्रियालाई पारित गरेका थिए। दुवै बैंकको सभाबाट पारित प्राप्ति प्रक्रियालाई नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त भएपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो। 

प्राप्तिपछिको एकीकृत कारोबारका लागि राष्ट्रबैंकले गत असार १० गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट गत असार १४ गते अनुमति पाएका थिए।

कुमारी बैंकले देवः विकास बैंकलाई १ः०.८६ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो।

अब कुमारी बैंकको कुल शाखा एवं एक्सटेन्सन काउन्टर सञ्जाल २१६, एटिएम संख्या १३८ लगायत कुल निक्षेप रु. १२४ अर्ब, कुल कर्जा प्रवाह रु. ११२ अर्ब तथा सेयर पुँजी रु. १२.५२ अर्ब पुगेको छ। 

यसपश्चात बैंक पहिलेभन्दा सबल र आगामी दिनमा बैंकका शाखा/एटिएम विस्तारित तथा बैंकिङ सेवासुविधा अझै उत्कृष्ट र ग्राहकमुखी हुँदै जानेमा बैंकले प्रतिबद्ध रहेको जनाएको छ।