काठमाण्डौ । देवः विकास बैंकमा डेपुटी सीइओको रुपमा कार्यरत नरेशसिंह बोहोराले त्यहाँ राजीनामा नदिंदै लुम्बिनी विकास बैंकको सीइओ नियुक्त भएका छन् । 

लुम्बिनी विकास बैंकको जेठ २३ गते सम्पन्न ३०३ औं बोर्ड बैठकले बोहोरालाई सीइओको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनी सीइओको रुपमा नियुक्त भए पनि कहिलेदेखि जिम्मेवारी सम्हाल्छन् भन्ने कुरा नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनामा उल्लेख छैन । लुम्बिनी विकास बैंकस्थित एक स्रोतलाई सो बारेमा बुझ्दा सीइओ नियुक्त बोहोराले देवः विकास बैंक नछाडिसकेकोले कहिलेदेखि जिम्मेवारी सम्हाल्ने भन्ने कुरा उल्लेख नगरिएको हो । 

'त्यहाँ उहाँले जिम्मेवारीबाट विदा लिइसक्नु भएको छैन ।' लुम्बिनी विकास बैंकका ती अधिकारीले भने-'त्यसैले हामीले ४० ५० दिनभित्रमा राजीनामा दिएर आउने शर्तमा उहाँलाई सीइओ नियुक्त गरेका हौ ।' 

लुम्बिनी विकास बैंकको सीइओ झलकप्रसाद खनालले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएपछि उमेश रेग्मीले कार्यबाहकको रुपमा बैंक चलाइरहेका छन् । यो बैंकमा मर्जरको क्रममा केही ठूला घोटाला भएका भन्दै राष्ट्रबैंकले छानबिन थालेपछि सीइओ झलक खनाल र तत्कालीन बैंक संचालक समितिका अध्यक्ष सुशील पराजुलीले समेत राजीनामा दिइसकेका छन् ।