काठमाण्डौ । देशको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले देवः विकास बैंकले जारी गर्न लागेको हकप्रदलाई कमजोर ग्रेडिङ प्रदान गरेको छ । 

आधारभूत अवस्था कमजोर रहेका कम्पनीलाई दिइने आइपीओ ग्रेड फोरको रेटिंग यो बैंकको हकप्रदलाई इक्राले दिएको हो । 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसअन्तरगत १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । 

देवः विकास बैंकले उसले जारी गर्न लागेको ४० प्रतिशत हकप्रदका लागि बिहीबार मात्रै बुक क्लोजको मिति तोकेको थियो । यो कम्पनीले फागुन १७ लाई बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ फागुन १६ गतेसम्म कायम बैंकका सेयरधनीले हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । 

बैंकलाई माघ २६ गते धितोपत्र बोर्डले ४० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको थियो । 

एनआइबिएल क्यापिटल लिमीटेडले हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ । 

हाल यो बैंकको चुक्तापूँजी १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । हकप्रदको बिक्रीपछि चुक्तापँुजी २ अर्ब २८ करोडको उचाईमा पुुग्नेछ ।