काठमाण्डौ  । गत कार्तिक २३ गते देखि २९ गतेसम्मका लागि बुक क्लोज गरेको देवः विकास बैंकको साधारणसभा हालसम्म पनि अन्योलमै रहेको छ ।

बुक क्लोज गरेको यतिका लामो समय बित्दा समेत यो कम्पनीको साधारणसभा कहिले हुन्छ, कुनै अत्तोपत्तो छैन । कम्पनीले समयमै साधारणसभा नगरेर लगानीकर्तालाई कुहिराको काग मात्र बनाएको छैन, केन्द्रीय बैंकको आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने नियमको समेत धज्जी उडाइरहेको छ । 

लामो समयसम्म साधारणसभा नहुँदा यो बैंकको सेयर किनेका लगानीकर्ता समयमै बोनस पाउन बञ्चित भएका छन् । लगानीकर्ताको लगानीमाथि खेलवाड गर्दै उनीहरुले समयमै रिटर्न पाउने अवस्था सिर्जना गर्नतर्फ देवः विकास बैंकको व्यवस्थापन चुकेको देखिएको हो ।  

बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १७ दशमलव १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो । साधारणसभाले यो प्रस्ताव समेत पारित गरेपछि र राष्ट्रबैंकबाट समेत स्वीकृति पाएपछि यो बैंकको सेयर किनेहरुले रिटर्न पाउने थिए । तर, बैंक व्यवस्थापन समयमै साधारणसभा गर्न चुक्दा अन्यौल सिर्जना भएको हो । यसबाट कम्पनीमा संस्थागत अनुशासन कमजोर भएको र कम्पनी लगानीकर्ताको हितप्रति गम्भीर नरहेको पुष्टि गर्ने विश्लेषक बताउँछन् ।

बैंकले हालसम्म पनि साधारण सभा नबोलाएर शेयरधनीमाथि अन्याय गरेको विषयमा बिजशालाको जिज्ञासामा बैंकका एक उच्च तहका कर्मचारीले हकप्रदको प्रक्रिया टुंगिएपछि मात्र साधारणसभाको थप प्रक्रिया सुरु हुने बताए । 

बोनस तथा लाभांश पारित गर्नका लागि साधारण सभा सम्पन्न गर्नुअघि नै बैंकले ४० प्रतिशत हकप्रदको प्रक्रियामा रहेको छ । राष्ट्रबैंकले राष्ट्रिय स्तरको विकास बैंकका लागि तोकेको चुक्तापूँजी २ अर्ब ५० करोड कायम गर्न गत फागुन १६ गतेसम्म कायम शेयरधनीले खरीद गर्न पाउने गरी हकप्रद आवेदन संकलन गरिरहको छ । चैत्र २६ गतेदेखि वैशाख ३० गतेसम्म हकप्रद खरीद गर्न पाउने सूचना बैंकले जारी गरेको छ । 

संस्थागत सुशासन समेत कमजोर रहेको यो बैंकको हकप्रद बैशाख ३० गतेभित्रमै सबै बिक्री हुने अवस्था छैन । यसो भयो भने नबिकेका सेयरको लिलामी प्रक्रिया खुलाउनुपर्नेछ, त्यसका लागि थप समय लाग्नेछ । यसको अर्थ बैंकले कात्तिक २३ गते बुक क्लोज गरेको साधारणसभाको मिति धकेलिएर अझै पर पुग्ने निश्चित झै छ ।

सूचीकृत कम्पनीको सञ्चालक समितिले लाभांश प्रस्ताव गरी त्यसलाई साधारण सभाबाट पारित गर्नुपर्ने हुन्छ । सामान्यतया आर्थिक वर्ष सकिएको ६ महिना भित्रै साधारण सभा गर्नुपर्ने हुन्छ । चालु आर्थिक वर्षको पुस मसान्तभित्र साधारणसभा गरिसक्नुपर्ने भए पनि बुक क्लोजको मिति तोकेर भ्रम छरी हालसम्म साधारणसभा नगरेको पाइएको हो । राष्ट्रबैंकले समेत समयमै साधारणसभा नगर्ने देवः विकास बैंकलाई कुनै कारबाही गर्न सकेको छैन ।

नेपाल राष्टबैंकका प्रवक्ता नारायण पौडेलले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने र विविध कारणले साधारणसभा हुन नसक्ने भए २ महिना समय थप्न पाइने व्यवस्था रहेको बताए । उनले समयमै साधारणसभा नगर्ने बैंकहरुलाई अप्ठ्यारो पर्नसक्ने समेत चेतावनी दिए । 

प्रवक्ता पौडेलकै भनाईलाई आधार मान्दा पनि देवः विकास बैंकले फागुन मसान्तसम्म साधारणसभा गरिसक्नुपथ्र्यो ।