काठमाण्डौ । राष्ट्रियस्तरको विकास बैंक देवः विकास बैंके तीन जिल्ले विकास बैंक वेस्टर्न डेभलपमेन्ट बैंक लिमीटेडलाई १ बराबर १ को सेयर स्वाप अनुपातमा प्राप्ति(एक्वीजिसन) गर्ने भएको छ । 

देवः विकास बैंकको तुलनामा वेस्टर्नको खराब कर्जा न्यून रहेको र कस्ट अफ फण्ड पनि थोरै रहेको डिडिएको क्रममा देखिएको छ । 

दुई बैंकको डिडिए रिपोर्टका आधारमा १ बराबर १ को अनुपातमा गाभ्ने भएको हो । यसको अर्थ वेस्टर्नले निकै राम्रो सेयर स्वाप रेसियो पाउने भएको छ । 

यी दुवै बैंकले प्राप्ति गर्ने र बिलय हुने प्रस्तावसहित आगामी असार १२ गते वार्षिक साधारणसभा आह्वान गरेका छन् । 

दुवैको साधारणसभाले गाभ्ने र गाभिने प्रस्ताव पारित गरेपछि औपचारिक रुपमा वेस्टर्न देवः विकास बैंकमा बिलय हुनेछ र एकीकृत कारोबारको थालनी हुनेछ । 

वेस्टर्नले डाँकेको साधारणसभामा हाल कायम चुक्तापूँजी ५० करोड ४० लाखको १४.७४ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यस्तै, साधारणसभाबाटै यो बैंकले संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपातलाई ५१ प्रतिशत र ४९ प्रतिशतमा रुपान्तरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । 

यसैगरी, देवः विकास बैंकले आफ्नो साधारणसभामा चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ । 

यो बैंकको हालको चुक्तापुँजी दुई अर्ब ५३ करोड रुपैयाँ रहेको छ। बोनस शेयरपछि बैंकको चुक्ता पुँजी दुई अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ। 

यसरी देवः विकास बैंकले वेस्टर्नलाई गाभेसँगै चुक्तापूँजी बढेर ३ अर्ब १७ करोडको उचाईमा पुग्नेछ । 

यसैबीच, देवः विकास बैंकले साधारणसभा प्रयोजनका लागि असार ६ गतेदेखि १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । देवः विकास बैंकको बोनस पाउन, साधारणसभामा सहभागी हुन इच्छुकले असार ५ गतेभित्र यो बैंकको सेयरधनी कायम हुनुपर्नेछ ।