काठमाण्डौ । देवः विकास बैंक लिमीटेडले साहारा विकास बैंकलार्ई अक्वायर(प्राप्ति) गर्ने भएको छ । प्राप्ति सम्बन्धी समझदारीपत्रमा दुवै बैंकका अधिकारीले शुक्रबार हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा देवः विकास बैक लि.को तर्पmबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र सहारा विकास बैंकको तर्पmबाट संचालक समितिका अध्यक्ष सुगन्धकुमार गुप्ताले हस्ताक्षर गरे । 

नेपाल राष्ट्र बैकबाट जारी निर्देशन बमोजिम २०७४ आषाढ मसान्तसम्म तोकिए बमोजिम चुक्ता पूँजी पुर्याउनु पर्ने भएकोले देवः विकास बैंकले साहारालाई आफूमा गाभ्ने भएको हो । 

साहारा विकास बैंक प्राप्तिपछि सुदुर पश्चिम तथा मध्य तराई क्षेत्रमा बैंकका शाखा सञ्जालहरु विस्तार भई नेपालभर ५१ वटा शाखा सञ्जाल पुग्नेछ भने कुल निक्षेप रु. ११.५१ अर्व र कर्जा लगानी रु. १०.०८ अर्व पुग्ने छ । साथै, संस्थाको नाम देवः विकास बैक लि. नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत देवः विकास बैंक लि.कै रहने समझदारी भएको बताइएको छ । 

यसअघि यो बैंकले युनियन फाइनान्स र साझा विकास बैंकसँग समेत प्राप्तिको सम्झौता गरी प्रक्रिया अगाडि बढिसकेको छ । 

तीनवटै संस्था प्राप्तिपछि बैंकको चुक्तापूँजी रु. १ अर्ब ८० करोड पुग्नेछ । 

बैंकले थप चुक्ता पूँजीको लागि अन्य संस्थाहरु प्राप्ति/मर्जर गर्ने योजना समेत कायमै राखेको बताइएको छ ।