काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तमा देशको अर्थतन्त्र ‘आशावादी’ देखिएको छ । 

यस्तै, चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म लगातार घाटामा रहेको समग्र शोधनान्तर स्थिति बचतमा फर्केको छ । पुँजीगत ट्रान्सफर, प्रत्यक्ष वैदेशिक लगानी तथा वैदेशिक ऋण लगायतका पुँजीगत तथा वित्तीय आप्रवाहमा सुधार आएकोले समग्र शोधनान्तर स्थिति बचतमा फर्केको नेपाल राष्ट्रबैंकको प्रष्टोक्ति छ । 

अघिल्लो वर्षको पहिलो तीन महिनामा रु. १ अर्ब ९७ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा रु. २१ अर्ब ९४ करोडले घाटामा रहेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म लगातार घाटामा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ४ अर्ब २७ करोडले बचतमा फर्केको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा समग्र शोधनान्तर रु. १९ अर्ब ७० करोडले बचतमा रहेको थियो ।

राष्ट्रबैंकले चालुु आबको पहिलो २ महिनाको तुलनामा तीन महिना अन्तको अवधिसम्म आर्थिक वृद्धिको आशावादी परिदृश्य देखिएको बताएको हो ।

चारवटा आधारहरु प्रस्तुत गर्दै यसैका कारण आर्थिक वृद्धिदरमा सुधार हुने अवस्था देखिएको राष्ट्रबैंकले प्रष्टीकरण दिएको छ । 

‘पहिलो, साउन–भदौ महिनामा पर्याप्त वर्षा भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने देखिन्छ । दोस्रो, उर्जाको सहज आपूर्ति र चमेलिया लगायतका केही जलविद्युत आयोजनाहरु सम्पन्न हुने क्रममा रहेकाले उद्योगहरुको क्षमता उपयोग बढ्ने देखिन्छ ।’ राष्ट्रबैंकले पहिलो तीन महिनाको आर्थिक र बित्तीय स्थिति समीक्षा गर्दै भनेको छ–‘तेस्रो, होटलहरुमा बुकिङ्ग तथा अकुपेन्सी दर वृद्धि भएसँगै पर्यटन क्षेत्र लगायत सम्वन्धित सेवा क्षेत्रको विस्तार हुने देखिन्छ । चौथो, सिमेन्ट तथा फलामे छड लगायतका निर्माण सामग्री आयातमा भएको वृद्धिले निर्माण कार्यले गति लिएको प्रतिविम्वित हुन्छ ।’

तरकारी तथा फलफूल जस्ता शीघ्र नाशवान वस्तुहरुको मूल्यमा उतारचढाव हुँदा हुँदै पनि समीक्षा अवधिमा समग्र मुद्रास्फीति ३.१ प्रतिशतमा सीमित रहेको केन्द्रीय बैंकले जनाएको छ । 

प्रदेश तथा स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण तथा आसन्न निर्वाचन खर्चका कारण केन्द्रीय सरकारको बजेट दवाबमा पर्ने देखिएको तथा वैदेशिक अनुदान प्राप्तिमा केही सुधार आएको र राजस्वको वृद्धिदर सामान्य रहेको उसको निश्कर्ष छ । 

‘कर्जा विस्तार गत वर्षको भन्दा स्वस्थ रहनुका साथै वार्षिक लक्ष्यसँग तादात्म्य मिलेको छ । सरकारले आर्थिक वर्षको शुरु देखि नै आन्तरिक ऋण उठाएकाले बैंकहरुलाई कर्जा तथा तरलता व्यवस्थापनमा सहयोग पुगेको छ ।’ केन्द्रीय बैंकले भनेको छ–‘घट्दो दरमा रहेको विपे्रषण आप्रवाहका कारण निक्षेपको वृद्धिदर भने सुस्त रहने देखिन्छ ।’