काठमाण्डौ । साबिकको भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंकबीचको मर्जरपछि बनेको देशकै ठूलो चुक्तापूँजी भएको राष्ट्रिय स्तरको विकास बैंक ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’को शुक्रबारदेखि एकीकृत कारोबारको औपचारिक सुरुवात भएको छ । 

नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले र्याडिसन होटलमा आयोजित एक विशेष समारोहका बीच भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको औपचारिक सुरुवात गरेका हुन् । 

राष्ट्रिय स्तरका यी दुई विकास बैंकले ०७२ पुस ८ गते मर्जरको औपचारिक सम्झौता गरेका थिए । त्यसपछि ०७३ असार मसान्तभित्रैबाट एकीकृत कारोबार सुरु गर्ने तयारी गरे पनि नेपाल राष्ट्रबैंकले दिने अन्तिम स्वीकृतिमा ढिलाई भएपछि पूर्व निर्धारित समय भन्दा करिब डेढ महिना ढिलो गरी एकीकृत कारोबारमा गएका हुन् । 

नेपाल राष्ट्रबैंकले यी दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति भदौ ८ गते दिएको थियो । आन्तरिक तयारी सबै पूरा गरी अन्तिम स्वीकृतिको पर्खाईमा रहेका दुई बैंक व्यवस्थापनले अन्तिम स्वीकृति पाएको ९ दिनकै अन्तरालमा एकीकृत कारोबार सुरु गरेको हो । 

एकीकृत कारोबार सुरुवातको औपचारिक समारोहमा बोल्दै भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलक खनालले मर्जपछि बनेको बैंकको चुक्तापूँजी १ अर्ब ८१ करोड ५० लाख पुगेको जानकारी दिए । उनका अनुसार यति धेरै चुक्तापुँजी कुनै पनि राष्ट्रिय स्तरको विकास बैंकको छैन । यसैगरी, मर्जपछि बनेको बैंकको ४२ शाखा, एक एक्सटेन्सन काउण्टर र १२ एटीएम केन्द्र रहेका छन् । मर्जपछि बनेको बैंकमा सर्वसाधारणको १४०७ करोड निक्षेप रहेको छ भने ११४१ करोड कर्जा लगानी गरेको छ । बैंकका १ लाख ५० हजार ग्राहक रहेका समेत खनालले जानकारी दिए । मर्जपछि बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा कर्मचारी संख्या ४११ रहेको छ । 

‘हाम्रो आगामी लक्ष्य अझ ठूलो, अझ राम्रो र बलियो विकास बैंक बन्ने हो ।’ सीइओ खनालले भने–‘राष्ट्रबैंकले तोकेको समयभन्दा अगाडि जतिसक्दो छिटो चुक्तापूँजी पुर्याउने दिशामा हामी केन्द्रीत हुनेछौ ।’ नेपाल राष्ट्रबैंकले राष्ट्रिय स्तरको विकास बैंक हुनलाई ०७४ असार मसान्तभित्र २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउने नीति छ । खनालले आगामी दिनमा बैंकले ग्रामीण र विकट क्षेत्रमा बैंकको नेटवर्क बिस्तारलाई प्राथमिकता दिइने समेत प्रष्ट्याए । 

कार्यक्रममा बोल्दै बैंकका डेपुटी सीइओ ज्ञानकृष्ण अधिकारीले हरेक आर्थिक सूचकको हिसाबले भिबोर सोसाइटी डेभलपमेन्ट बैंक देशकै ठूलो विकास बैंक भएको दाबी गरे । उनले आगामी दिनमा बैंकले साना निक्षेपकर्तालाई समेट्ने र आधुनिक बैकिङ प्रणालीको उच्चतम प्रयोग गर्ने उद्घोष गरे । बैंकले लगानीकर्र्तालाई चाँडै प्रतिफल समेत दिने उनले घोषणा गरे । 

कार्यक्रममा तत्कालीन भिबोर विकास बैंकका अध्यक्ष अशोकराज पाण्डे, भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका अध्यक्ष सुशील पराजुली, डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष कृष्णराज लामिछाने लगायतले बोलेका थिए ।