काठमाण्डौ । जुँगाको रेखी भर्खर देखिन थालेकाहरुको एउटा जमात । अलग–अलग गेटअपमा हेर्दा धेरैलाई लाग्नसक्ला, यो समूह पनि बजारको चियापसलमा चुरोटको धूवा उडाएर चियाको चुस्की लिंदै गफमै उर्जाशील समय व्यथित गर्नेहरुको झूण्ड होला । तर, यथार्थ फरक हुनसक्छ ।

उनीहरुकै उमेरका युवाहरु सपना साकार पार्ने नाममा विदेश हाँकिइरहेको बेला यो समूह भने देशलाई समृद्धि बनाउने र प्रविधिमा क्रान्ति ल्याउने भन्दै नयाँ अनुसन्धानमा जुटेको छ । युवाहरुको यही समूह निकट भविष्यमै देशकै पहिलो इलेक्ट्रिक बस उत्पादनको हतारोमा जुटेको छ । भर्खर कलेज पढ्दै गरेकाहरु नेपालकै पहिलो इलेक्ट्रिक बसको डिजाइनमा जुटेका छन्, उनीहरुको सपनाले ०७५ सालभित्रै यथार्थमा परिणत हुँदैछ । 

तीन महिनाअघि गोरखा मोटर्सको नाममा दर्ता भएको कम्पनीमा आबद्ध युवाहरुले आफ्नै देशमा इलेक्ट्रिक बस उत्पादनको प्रयासलाई अगाडि बढाएका हुन्, त्यो पनि निजी लगानीमा । 

‘हाल बसको डिजाइनको काम भइरहेको छ ।’ गोरखा मोटर्सका अध्यक्ष कविन्द्र प्रसाईले भने–‘०७५ सालभित्र एउटा इलेक्ट्रिक बस तयार गछौ । आगामी ५ वर्षभित्र २ जना मान्छे चढेर उडाउन सकिने ड्रोन समेत निर्माण गर्छौ ।’ 

ललितपुरको कुपण्डोलमा स्थापना भएको इनोभेटिभ घर नेपालमा भर्खरका युवाहरु अनुसन्धानमा जुटिरहेका छन् । त्यहाँका ३० युवाहरुमध्ये कोही इलेक्ट्रिक बसको डिजाइनमा व्यस्त छन्, कोही ड्रोन तथा कोही धेरै टिक्नसक्ने र इलेक्ट्रिक साधनलाई सुहाउँदो ब्याट्रीको रिसर्चमा तल्लीन छन् ।

देशलाई रिसर्चको माध्यमबाट केही दिन तमतयार यिनैमध्येका युवाहरुको १५ करोड रुपैयाँको सुरुवाती लगानीबाट गोरखा मोटर्स स्थापना भएको हो । यो कम्पनीले आगामी चैतभित्र अत्याधुनिक डिजल बसहरु पूर्वी नेपालमा संचालनमा ल्याउँदैछ । ‘हामी १५ वटा ४२ सिटे बस संचालनमा ल्याउँदैछौ ।’ अध्यक्ष प्रसाईले भने–‘यी बस अहिले डिजेल बस नै हुनेछन् । तर, बसको ढोकादेखि भित्रका सबै प्रविधि पूर्ण इलेक्ट्रिक हुनेछन्।’ उनका अनुसार विदेशमा झै बसमा चढ्ने यात्रुहरुका लागि कार्ड सिस्टम लागूू गरिनेछ । बसभाडा भुक्तानी, बसमा चढ्न र ओर्लन समेत कार्डको प्रयोग अनिवार्य गरिनेछ । त्यसबाहेक बसभित्र रिसर्चमा आधारित सामाग्रीहरुको डिस्प्ले गरिनेछ । बाँकी सुविधा समेत इलेक्ट्रिक बस झै हुने बताइएको छ । 

आफूहरुले सुरुवातमै केही संख्यामा इलेक्ट्रिक बस उत्पादन गर्नसक्ने भए पनि चार्जिङ स्टेशन, ब्याट्रीको स्वाप स्टेशन लगायतको व्यवस्था नभएकोले समस्या हुने प्रसाईको भनाई छ । ‘तर, हामीले चैतबाट सुरु गर्ने १५ वटा बस पूर्ण डिजिटाइज हुनेछ ।’–उनले थपे । 

यो समूहले इलेक्ट्रिक बसको उत्पादन नेपालमा पनि संभव छ भन्ने कुराको प्रमाणित गर्नेछ । ‘त्यसपछि मात्र हामी विस्तृत योजनासहित प्रस्ताव लिएर सरकारमा जानेछौ ।’ प्रसाईले भने–‘चाइनामा बनेको मध्यम खालको जुन इलेक्ट्रिक बसलाई अढाई करोड पर्छ, त्यसलाई हामी यहाँ डेढ करोडमै उत्पादन गर्न सक्छौ, हाम्रो रिसर्चको खर्च यहाँको जनताको काँधमा बोकाउने छैनौ ।’ दैनिक रुपमा ३० वटा इलेक्ट्रिक बस चलाउँदा डेढ मेगावाट मात्र बिजुली खपत हुने उल्लेख गर्दै त्यसका लागि स्वदेशमै उत्पादित विद्युत पर्याप्त हुने प्रसाईले बताए । 

गोरखा मोटर्समा ७ युवा प्रोमोटरको रुपमा छन् । तर, यो समूहले आफूसँग काम गर्ने ३० इञ्जिनियरहरुको टिमलाई कम्पनीको ३० प्रतिशत सेयर दिने घोषणा गरिसकेको छ । यस्तै, निकट भविष्यमा मोरङको बेलबारीस्थित करमडाँडामा गोर्खा मोटर्सले अत्याधुनिक रिसर्च सेन्टर स्थापना गर्दैछ । यो समूहले भविष्यमा सरकारको साथ पाए आफ्नै स्याटेलाइट बनाउने, रकेट उडाउनेसम्मको महत्वकांक्षी सपना समेत सँगालेको छ ।