काठमाण्डौ । पछिल्लो समय शोधानान्तर बचतको स्थितिमा चाप पर्न थालेको देखिएको छ । 

नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टमा यस्तो देखिएको हो । 

चालु आबको ७ महिनासम्म अर्थात माघ मसान्तसम्मको शोधनान्तर स्थिति रु.२१ अर्ब ६१ करोडले बचतमा छ । जबकि पुस मसान्तसम्म शोधनान्तर स्थिति रु.२६ अर्ब ६५ करोडले बचतमा  थियो । 

पछिल्लो समय शोधानान्तर बचतको स्थितिमा संकुचन आउनु पछाडिका कारण पाम आयलको निर्यातमा लागेको प्रतिबन्ध हुनसक्ने बताइन्छ । 

भुक्तानी सन्तुलनलाई अर्को भाषामा शोधनान्तर स्थिति पनि भनिन्छ । नेपालको हालको शोधनान्तर स्थिति २१.६१ अर्ब बचतमा छ, यसको अर्थ भनेको नेपालले अन्य देशभन्दा २१.६१ अर्ब रुपैयाँ बढीले मौद्रिक कारोबार गरेको छ, तर पुससम्म २६.६५ अर्ब बढीको मौद्रिक कारोबार गरेको थियो । यसको अर्थ हुन्छ नेपालको निर्यात पुसमा भन्दा माघमा कमजोर बनेको छ ।

शोधानान्तर स्थितिले देशको वित्तीय तथा आर्थिक अवस्थाको चित्रण गर्छ । यस्तै, आफ्नो देशको मुद्राको स्थिति (मुद्राको मूल्य दरिलो बन्दै छ वा ह्रास हुँदैछ भन्नेबारे)को चित्रण गर्छ । भुक्तानी सन्तुलन समेत भनिने शोधानान्तर स्थितिले सरकारलाई वित्तीय तथा व्यापारिक नीति निर्धारण गर्न सहयोग गर्छ । 

शोधानान्तर स्थिति गणनामा चालू खाता, पुँजीगत खाता र वित्तीय खाताको हिसाबकिताब तथा अवस्थाको विश्लेषण गरिन्छ । चालु खातामा मुख्यतया आफ्नो देश र अन्य देशबीच भएको वस्तु तथा सेवाको आयात तथा निर्यातका तथ्यांक समावेश हुन्छन् भने पुँजीगत खातामा दुई वा अन्य देशबीच सम्पत्ति खरिद–बिक्री सम्बन्ध (जस्तो, जग्गा तथा भौतिक सम्पत्ति पनि पर्छन्)मा भएको कारोबारको तथ्यांक राखिन्छ । पुँजीगत खातामा ऋण तथा सापटी, लगानी र विदेशी विनिमय कोषसमेत समावेश गरिएको हुन्छ । 

यसैगरी, वित्तीय खातामा विदेशी लगानी, रियलस्टेटमा भएको लगानी र ठूला–ठूला परियोजनामा गरिएको लगानीको तथ्यांक राखिन्छ । यसले विशेष गरेर घरेलु सम्पत्तिमा विदेशीको स्वामित्व र विदेशी सम्पत्तिमा घरेलुको स्वामित्वको मापन गर्छ ।