-भक्तराज रसाइली
विश्वका प्राय हरेक मुलुकका युवामा अमेरिका टेक्ने सपना हुन्छ । अमेरिका वा युरोप गएर सुखमय जीवन जिउने सपना बुन्नेहरु विश्वभर नै भेटिन्छन् । नेपालका युवापुस्तामा समेत अमेरिका र यूरोप मोह उस्तै छ । यहीकारण वर्षेनी कानूनी र गैरकानूनी बाटोबाट अमेरिका र यूरोप भाँसिने युवाहरुको समेत कमी छैन । तर, अमेरिका वा यूरोप भाँसिएर उतै पलायन हुने वा त्यहाँको रमझममै रम्ने युवा मात्र छैनन्, अमेरिकाको आकर्षक अवसर र जागिर त्यागेर देशको मायाले स्वदेश फर्किएका र नेपालमै उदाहरणीय कार्य गरिरहेका युवाहरुको पनि हामीमा कमी छैन । यस्तैमध्येका एक युवा हुन् राजन तिमिल्सिना ।

कर्णालीको फुड र वेभरेजको अनुसन्धानमा सक्रिय काठमाण्डौंका रैथाने राजन तिमिल्सिना २ वटा डीग्री हातमा बोकेर काठमाण्डौबाट ९०० कि.मि. टाढा कर्णालीको माटोको उत्पादनको प्रवद्र्धनको सपना बोकेर अमेरिकाको आकर्षक जीवन त्यागेर नेपाल फर्किएका एक उदाहरणीय पात्र हुन् ।

देशको कृषि उत्पादन र त्यस्ता उत्पादनको व्यापारमा समेत अग्र्यानिक क्रान्तिमा होमिएका उनले निकट भविष्यमै अनलाइनबाटै हिमाली भेगको सामान बिक्रीको चाँजोपाजो मिलाइरहेका छन् । अर्गानिक सपनाको हुटहुटीकै कारण अमेरिकाबाट फर्किएका उनले अर्गानिक फुड वा नन पेस्टिसाइड फुड प्रवद्र्धन गर्न नवलपरासी र जुम्लामा प्लान्ट जडान गरी प्रत्यक्ष रुपमा ७५ जनालाई रोजगारी दिइरहेका छन् ।

हाल तिमिल्सिनासहितको समूहले ती २ ठाउँमा युनाइटेड लाइफलाइन बेभरेज प्रा.लि. र एप्पल डिस्टीलरी नामका दुई कम्पनी संचालन गरिरहेको छ ।  

अमेरिकामा आफ्ना भाइसँगै बिजिनेस गरेका उनले त्यहाँको सबै कुरा छाडेर नेपालमा नौलो काम गर्ने प्रणका साथ स्वदेश फर्किए । 

स्वदेशमै बसेर नयाँ काम गरे त्यसले देश विकासमा टेवा पुग्ने उनी बताउँछन् । हाल उनको कम्पनीबाट बोटलिङ्ग वाटर, जुम्लाको शिवक्थन, जुसहरु, मार्सी चामल लगायतका स्थानीय उत्पादनको प्रवद्र्धन भइरहेको छ भने जुम्लामै उनीहरुले एप्पल डिस्टीलरी संचालन  गरिरहेका छन् । डिस्टीलरीले अल्कोहलिक, ननअल्कोहलिक उत्पादन र जुम्लाका अन्य उत्पादनहरुलाई पनि देशका विभिन्न ठाउँमा आपूर्ति गरिरहेको छ ।

उनीहरुसँग ६ जनाको टिम छ, तर रामकृष्ण चौलागाई र तिमिल्सिना बढी सक्रिय छन् । उनीहरुको समूहले हालसम्म २ करोडको हाराहारीमा लगानी गरिसकेको छ, जसमध्ये १ करोड रुपैयाँ कृषि विकास बैंकबाट ऋण लिएका छन् । 

किन जुम्ला नै ?
तिमिल्सिनाको समूहले व्यवसायका लागि जुम्लालाई नै किन केन्द्र भागमा राखेको होला त ? राजनको भनाईमा जुम्ला एप्पल जोन हो । यहाँ अर्गानिक उत्पादनको भण्डार नै छ, जसको सही प्रवद्र्धन अझै हुन सकेको छैन । जुम्लाका लागि विनियोजित विकास बजेट फ्रिज हुने अवस्था रहेकोले बरु त्यस्ता बजेटलाई किसानको सहयोगका लागि परिचालन गर्न सके र जुम्लामा अर्गानिक उत्पादन गर्नेहरुलाई प्रोत्साहन गर्न सके कृषि क्रान्तिको सुरुवात यहीबाट हुने उनी दाबी गर्छन । 

संघर्षपूर्ण जीवन
काठमाण्डौं वडा नं. २२ न्यूरोडमा जन्मेका रैथाने भन्न रुचाउने उनी  परिवारबाट छुट्टिए पछि इजरायल एम्बेस्सीमा जागिर सुरु गरेका थिए । उनले एमबीए र पत्रकारितामा डीग्री गरेका छन् । पछिल्लो पटक गाडी सुविधासहित ३ लाख महिनाको तलब अस्वीकार गरी अर्गानिक नेपाल बनाउने अभियानमा लागेका छन् ।

अस्थिर राजनीतिबाट दिक्क भएर अमेरिका भाँसिएका राजन ४ वर्षसम्म उतैको रमझममा भूलिए । तर, भित्री मन भने नेपालमै थियो । जागिर र सुख सुविधाको जिन्दगी समेत त्यागेर देशप्रेमले उनलाई नेपाल नै फर्कायो । अमेरिकामा बस्दा उनलाई आफू नेपालमै फर्किनुपर्ने निश्कर्षमा पुगे र देशका लागि केही गर्ने अठोटसहित स्वदेश फर्किएका हुन् ।

बिजनेस नेपाल मेगजिनमा असिस्टेन्ट सम्पादकको काम गरे । त्यसमा भविष्य नदेखेपछि वेभ मेगजिनमा पनि काम गरे । इजरायल दूताबासमा आकर्षक जागिर खाएका उनीसँग भारतको युभी ग्रुप मल्टीनेसनल कम्पनीमा नेपाल प्रतिनिधि भएर काम गरेको अनुभव छ।

अमरिकामा मासिक ४ हजार डलर कमाइरहेका उनले अहिले कतिको कमाइ हुन्छ भन्ने जवाफमा भोलि कमाउने आशामा आज लगानी बिस्तार गरिरहेको बताए । गान्धीले भनेका कुरा उद्धृत गर्दै उनले भने–‘जिसने देश छोडा,उसने सबकुछ छोडा ।’ उनको अनुभवमा अमेरिकामा सोसल लाइफ नै छैन त्यहाँ मान्छे रोबर्ट भएर बस्छ ,मरुन्जेलसम्म पनि दास भएर बस्ने ठाउँ हो अमेरिका ।

अमेरिकामा रहँदा उनले त्यहाँको  संभावना खासै देखेनन् रे । त्यहाँका मान्छेहरुमा प्राकृतिक खुशी उनले कहिल्यै पढ्न पाएनन् । रोबोटजस्तो जिन्दगी बाँच्नुभन्दा आफ्नै देशको सेवामा ढिडोपिठो खाएर लाग्नु श्रेयस्कर ठानेर आफू स्वदेश फर्किएको उनको स्पष्टीकरण छ ।

नेपालमा अर्गानिक उत्पादनको अथाह संभावना रहेको उनी बताउँछन् । यही कुरालाई मध्यनजर गर्दै उनीसहितको समूहले अर्गानिकको चेन खोल्ने कामको सुरुवात गरे । हाल उनले थालेको विजिनेशको १८ वटा फ्रेञ्चाइजे मात्र भएको छ भने अरु ८ वटा चेनबाट समेत सामान आपूर्ति भइरहेको सुनाए । अर्गानिकको माग अत्यधिक रहेकोले समयमै आपूर्ति गर्न अप्ठ्यारो परिरहेको उनको भनाई छ ।  

नेपाल: अवसरको स्वर्ग
राजनको ठम्याईमा विश्वका अन्य कुनै पनि देश त्यस्तो छैन, जहाँ नेपालमा जस्तो बग्रेल्ती अवसर होस् । त्यही भएर उनले नेपाललाई ‘अवसरहरुको स्वर्ग’ उपनाम समेत दिएका छन् । ‘अरुले अमेरिकामा धेरै अवसर देख्छन्, तर म चाहि नेपालमा धेरै अवसर देख्छु।’ उनले भने–‘प्राकृतिक छटाले भरिपूर्ण यति सुन्दर देश विश्वमै छैन । हामीले यही कुराको प्रचार प्रसार गर्न सके विश्वकै सुखी र सम्पन्न बन्नसक्छौ।’ उनले अवसर धेरै भए पनि नेपालमा सिस्टमको अभाव रहेकोले दुःख पाइएको समेत दाबी गरे । 

नेपालमा जे गरे पनि नाफा बनाउने ठाउँ रहेको बुझेका उनले जग्गा लिजमा लिएर किवी, ड्रागन फुड, पाउलोनिया वा आफ्नै घरको छतमा तरकारी लगाएर पनि बेच्न सकिने सुझाव दिए । विदेश गएर मिहिनेत गर्ने, यहाँ चाहि केही नगर्ने प्रवृतिले नै युवापुस्तालाई बिगारेको उनको ठम्याई छ । 

कुराकानीको क्रममा युवामा बढेको विदेशमोहप्रति रुष्ट उनले थपे–‘चिनियाँहरु ठमेलमा बिजिनेस गरिरहेका छन् । बर्मीज, थाई, कोरियनहरु नेपालमा आएर रेष्टुरेन्ट र अन्य कामहरु गर्दछन्, तर हामी त्यही काम गर्दैनौ वा गर्न चाहदैनौ । हे नेपाली युवा ६ वटा आँखा खोलेर त हेर, अवसर यहीँ छ, कहाँ पराई भूमितिर कुद्छौ ?’

४२ औं बसन्तमा हिँड्दै गरेका उनले राजधानीमा जन्मेर पनि जुम्लालाई जोड्ने चिन्ता गरिरहेका छन् र उनी पृथक सोचेर मात्र विकास हुने बताउँछन् । देशका कुनाकुनामा रोजगारी सिर्र्जना गर्न उद्यमशील भई उद्योग खोल्न सके जनतालाई सहजतासँगै बजार विस्तार र अवसर सिर्जनाले मुलुकको समृद्धिको चित्र कोर्न सकिने ठोकुवा समेत गरे ।

राज्यलाई सुझाव, अनि केही प्रश्न
देशमै उत्पादन भएको जाल्पा गोल्ड कफी अमेरिका निर्यात हुने गरेको उदाहरण दिंदै राजनले कफी आयातमा कडाई गरी स्वदेशी कफी उत्पादकहरुलाई नै प्रोत्साह मिल्ने नीति राज्यले लिनुपर्ने सुझाव दिन्छन् । ‘चिया इलाममा उत्पादन हुन्छ, किन चिया आयात गर्न दिने?’–उनी प्रश्न गर्छन् ।

दैनिक रक्सीकै लागि ५ करोड रुपैयाँ भन्दा बढी लिक्वर आयातमा पैसा बिदेशिने गरेको उदाहरण पेश गर्दै उनी स्वदेशमै सुरक्षित ढंगले उत्पादित रक्सीलाई अबैध ठहर गरी नष्ट गरिनु हाँस्यास्पद रहेको दाबी गरे । लोकल रक्सीको गुणस्तर जाँच गरी राज्यले स्पष्ट नीति बनाइदिए त्यसले रक्सी आयातको नाममा वार्षिक बाहिरिने करोडौं रुपैयाँको पलायन रोक्ने दाबी गर्छन् । सरकारले देशमै बग्रेल्ती अवसर देखेर पनि आँखा बन्द गरेर बसेको उनको आरोप छ । उनले न्यून निर्यात र अत्यासलाग्दो आयातको ग्राफ बढ्नु पछाडि सरकारमा बस्नेहरुको माफियासँगको साँठगाँठ रहेको दाबी समेत गर्न भ्याए । उनी भन्छन्–‘खाडीबाट आएको डलरले देश र सरकार चल्छ, त्यो डलर सरकारले फू–फू गरेर उडाइरहेको छ ।’

उनले देशमा रहेको जडीबुटीको अथाह संभावनालाई समेत सरकारले चिन्न नसकेकोमा रोष प्रकट गरे । भने–‘जडीबुटी प्रशोधन केन्द्रका रुपमा सरकारी निकाय के हेरेर बसेको छ ? हाम्रै नेपालमा उत्पादन हुने केशर कौडीका भाउमा लगेर केशर च्यवनप्राशका नाममा पुनः आयात गरिन्छ, यो परिपाटी कहिले बन्द हुन्छ ?’ उनी अझै अगाडि प्रश्न गर्दै भन्छन्–‘जुन देशमा हाम्रो चीज छ त्यो हामी ल्याउँदै ल्याउँदैनौं भन्ने हिम्मत र अठोट छ सरकारसँग ?’

उनले राज्य संचालनको नाममा राज्यकोष तथा प्राकृतिक सम्पदाको मिलेमतोमै चरम दोहन भइरहेको समेत दाबी गरे । उनले जडीबुटीको खुलेआम चोरीलाई राज्यले तत्काल रोक्नुपर्ने माग गरे ।

सेयर बजारका विषयमा थोरबहुत जानकार उनी प्राथमिक बजारमा खुल्ने सेयरको अवसरहरुको सदुपयोग गर्दा रहेछन् । विगत ५ वर्षदेखि विभिन्न कम्पनीको आइपीओमा आफूले निरन्तर लगानी गरिरहेको उनले खुलाए ।

समस्यै समस्याको चाङ
राजनको भनाईमा यहाँ धेरै अवसर भए पनि जानाजान सिर्जना गरिएका समस्याले उद्यम गर्नेले दुःख पाइरहेका छन् । कर परिवर्तनको बेटुङ्गो अवस्था, अस्थिर राजनीति, बढ्दो भ्रष्टाचारले समृद्धिको मार्गतर्फको यात्रा अनिश्चित बनाइदिएको उनको भनाई छ । हिजोसम्म अस्थिर सरकार थियो, दुःख थियो नियम कानूनको अभाव थियो तर अहिले अचाक्ली बढेको करले गरिखानेहरुलाई समेत तर्साइदिएको उनी बताउँछन् ।

नेपालका कतिपय प्रशासनिक प्रक्रिया समेत झञ्झटिला छन् । ‘नेपालमा कम्पनी सुरु गर्नलाई गाह्रो छैन, तर बन्द गर्न भने झञ्झट छ । जसरी सजिलोसँग खोल्न दिएको छ त्यसरी नै बन्द पनि गर्न दिनुपर्छ ।’–उनले भने ।

करमुखी भएको अहिलेको सरकारले अर्गानिक उत्पादनमा  विशेष छुट दिनुपर्ने माग समेत राख्न भूलेनन् । ‘सडेर जाने चीजलाई काठमाण्डौंसम्म लिएर आएका छौं, सरकारले कर छुट दिनुपर्यो । जन्मदेखि मृत्युसम्म कर तिर्नुपर्ने कस्तो बेला आयो ?’–उनले भने ।