काठमाण्डौ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा क्वारेन्टिनमा बस्नेहरुको संख्या समेत दिनप्रतिदिन बढिरहेको छ । 

पछिल्लो विवरण अनुसार देशभर करिब १ लाख जना क्वारेन्टिनमा रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ७ प्रदेशमध्ये सबैभन्दा बढी क्वारेन्टिनमा बस्ने प्रदेश नम्बर ५ मा छन् । यो प्रदेशमा ३२ हजार ३७३ जना क्वारेन्टिनमा छन् । यस्तै, सुदुरपश्चिम प्रदेशमा २५ हजार ७६५ जना, कर्णाली प्रदेशमा १७ हजार ५ जना, प्रदेश नम्बर २ मा १६ हजार ६७८ जना, गण्डकी प्रदेशमा २ हजार ८१४ जना, प्रदेश १ मा २ हजार ७४७ जना र बागमति प्रदेशमा १ हजार ९५४ जना क्वारेन्टिनमा छन् । 

प्रवक्ता डा. देवकोटाले क्वारेन्टिनमा बस्नेको संख्या दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै आगामी दिनमा यो संख्या अझै बढ्ने प्रष्ट्याए ।

क्वारेन्टिनमा बस्नेसँगै संक्रमितको संख्या समेत बढिरहेको छ । मृत्यु हुनेको संख्या समेत बढिरहेको छ । उनले भने ः त्यसकारण हामी थप जिम्मेवार र सजग बन्नुपर्ने बेला आएको छ । 

उनका अनुसार देशभर एकहजार संक्रमितहरु आइसोलेसनमा रहेका छन् । 

परीक्षणमा पनि तीव्रता
संक्रमितको संख्या बढेसँगै सरकारले परीक्षणको दायरा समेत बिस्तार गरिरहेको छ । 

यो क्रममा दैनिक ७ हजार हाराहारीमा परीक्षण हुन थालेको छ । 

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार २३८ र आरडिटीबाट ३ हजार ४४४ जनाको नमूना परीक्षण भएको छ । 

हालसम्म देशमा पीसीआर विधिबाट ६४ हजार १५४ जनाको तथा आरडिटीबाट १ लाख ५ हजार ४७८ जनाको परीक्षण भइसकेको छ । 

पछिल्लो समय सरकारले आरडिटीभन्दा पीसीआर विधिको परीक्षणलाई प्राथमिकतामा राख्न थालेको पछिल्लो तथ्यांकहरुले देखाउँछ ।