काठमाण्डौ । दशैं, तिहार तथा छैठ पर्वको अवसरमा संचालन हुने सुपथ मूल्यका पसलमा दैनिक उपभोग्य वस्तुमा सर्वसाधारणले सहुलियत तथा छुटका थुप्रै अफर पाउने भएका छन् । 

सरकारी तथा निजी क्षेत्रबाट संचालन हुन लागेका यस्ता सुपथ पसलमा दाल, चामल, मसलादेखि तेलसम्ममा उपभोक्ताले छुट पाउनेछन् । 

दशैंतिहार र छैठको अवसरमा सुपथ पसल चलाउन चाहने निजी व्यवसायीलाई सरकारी संस्थानले सहुलियत र कमिसन उपलब्ध गराउने छन् भने सरकारी संस्थानले देशका विभिन्न क्षेत्रमा आफैंले सहुलियत पसल समेत संचालन गर्नेछन् । सुपथ पसल संचालनका लागि निजी व्यवसायीले सम्बद्ध निकायमा सूचिकरण हुनुपर्नेछ । 

सरकारले यसअघि नै चाडपर्वलाई लक्षित गरी  असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म सुपथ मूल्य पसल चलाउने घोषणा गरिसकेको छ । 

साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, दूग्ध विकास संस्था(डिडिसी)ले सहुलियत पसल संचालन गर्नेछन् भने व्यवसायीहरुले समेत सहुलियत पसलका लागि सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउने आपूर्ति मन्त्रालयले जनाएको छ । 

कहाँ-कहाँ सुपथ पसल, केमा कति छुट ?

सरकारी संस्थानसँगको छलफलमा दाल चामल उद्योग र थोक बिक्रेताले दाल, चामलमा ३ प्रतिशत छुट दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै तेल, घ्यु उद्योगले आफ्नो उत्पादनमा प्रतिलिटर ३ रुपैयाँ, पैठारीकर्ताले आयातित तेलमा प्रति ५ लिटरमा १५० रुपैयाँसम्म छुट दिने प्रतिबद्धता जनाएका छन् । 

चिनी उद्योगले मूल्य अभिवृद्धि कर बाहेक प्रतिकिलो ५७ रुपैयाँमा उपलब्ध गराउने तथा सहकारी उद्योगबाट उत्पादित मसलामा १० रुपैयाँ छुट दिने सहमति समेत भएको खाद्य विभागले जनाएको छ । 

यसैबीच, नेपाल खाद्य संस्थान तथा नेशनल ट्रेडिङ लिमिटेड, साल्ट ट्रेडिङ लिमिटेड कर्पोरेशन र दुग्ध विकास संस्थानले देशभर चाडबाड लक्षित सुपथ मूल्यका ४७ वटा पसल संचालन गर्ने तयारी गरेका छन् ।

सरकारी निकायबाट संचालित यी पसलमा सोना मन्सुली चामलमा प्रतिकिलो ५ रुपैयाँ, जिरा मसिनोमा प्रतिकिलो ५, गोरखनाथ, बास्मती चामलमा प्रतिकिलो १०, जापानीज चामलमा प्रतिकिलो ५, जुम्ली सिमीमा १०, जुम्ली तिते फापरमा १०, नुनमा २, डिडिसी घ्युमा ५०, पनिरमा प्रतिकिलो १० रुपैयाँसम्म छुट हुने बताइएको छ । साल्ट ट्रेडिङले काठमाडौंका ९ वटा स्टल, ३ वटा घुम्ती पसल र काठमाडौं बाहिर आफ्नै डिपो, कार्यालयहरु २४ स्थान तथा उपत्यकाभित्र र बाहिर गरी ३६ स्थानबाट बिक्री गर्ने तयारी गरेको छ ।

विभागका अनुसार दुग्ध विकास संस्थानले एकिृकत पसल बाहेक आफ्ना उत्पादन घ्यु, पनिर लगायतका विभिन्न दुग्धजन्य वस्तु काठमाडौंको लैनचोर, न्युरोड बसन्तपुर, खुमलटार गरी तीनस्थानबाट बिक्रीवितरणको व्यवस्था मिलाउनेछ । 

यसबाहेक डिडिसीले काठमाडौं बाहिर हेटौंडामा औद्योगिक क्षेत्र, सालिक चोक, बिराटनगरमा कञ्चनबारी र महेन्द्रचोक, जनकपुरमा ढल्केवर र भानुचोक, बुटवल, नेपालगञ्जको कोहलपुर, धनगढीको अत्तरिया गरी देशभर कुल १२ स्थानमा सुपथ पसल संचालन गर्नेछ ।

यसैगरी, सुर्खेत, नेपालगञ्ज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुङ, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल संचालन गरिने विभागले प्रष्ट्याएको छ । 

यता, खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र ७ प्रदेशमा थप ११ वटा सुपथ मूल्यका पसल खोल्नेछ ।