काठमाण्डौ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको प्रयास भइरहँदा देशमा गम्भीर अवस्था आउनसक्ने देखिएको छ । 

कोरोना संक्रमण नयाँ चरणमा प्रवेश गरेसँगै यस्तो अवस्था देखिएको स्वास्थ्य विज्ञहरुले बताएका छन् । 

हालसम्म नेपालमा विदेशबाट आएकाहरुमा मात्र कोरोना संक्रमण देखिएको थियो । अर्थात उनीहरुमा संक्रमण विदेशमै भएको र उनीहरुले त्यो भाइरसलाई अन्य देशबाटै लिएर नेपाल आएका थिए । त्यस्ता संक्रमितबाट नेपालका अन्यमा कोरोना सरेको हालसम्म पुष्टि भएको थिएन । 

तर, शनिवार भेटिएका ३ कोरोना संक्रमितमध्ये एउटा केस यस्तो छ, जसका कारण स्वास्थ्य मन्त्रालयका विज्ञ तथा कोरोना भाइरससँग सम्बन्धित जानकारहरुलाई नै गम्भीर बनाइदिएको छ । 

दुबईबाट दिल्ली हुँदै त्यहाँबाट भिस्तारा एयरको जहाज चढेर काठमाण्डौ आएका कैलालीका एक युवकमा कोरोना संक्रमण देखिएको थियो । उनी देशका चौथो कोरोना संक्रमित व्यक्ति हुन् । शनिवार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ती युवकबाट कोरोनाको संक्रमित उनकै भाउजूमा सरेको पाइएको हो । यसले नेपालमा कोरोना संक्रमणको अवस्था गम्भीर बन्दै गएको देखाएको स्वास्थ्य मन्त्रालयका विज्ञहरु बताउँछन् । 

‘यसलाई भाइरसको लोकल ट्रान्समिसन भनिन्छ । यो अवस्थालाई नियन्त्रण गर्न सकिएन भने मास ट्रान्समिसनको खतरा रहन्छ ।’ स्वास्थ्य मन्त्रालयका विज्ञ डा. खेम कार्कीले भने–‘नेपालमै पहिलोपटक लोकल टान्समिसनको केस देखियो, यो गम्भीर अवस्था हो । अब त झनै बढी सचेत हुने बेला भएको छ भन्ने यसले देखाउँछ ।’ 

यो घटनाले नेपालमै पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण फैलन सक्छ भन्ने देखाएको छ । 

यही घटनापछि सरकारले अख्तियार गर्नुपर्ने रणनीतिको विषयमा छलफल गर्न आज ४ बजे मन्त्रीपरिषद बैठक समेत बोलाइएको छ । सरकारले आजको बैठकबाटै लकडाउनको अवधि लम्ब्याउने निर्णय गर्नसक्छ । लकडाउनलाई अझ बढी कडा पारी संभावित संक्रमितहरुको स्वास्थ्य जाँचलाई द्रूत गतिमा बढाउने विषयमा समेत कुनै निर्णय आउनसक्ने बताइएको छ ।