काठमाण्डौ । नेपाल टेलिकमले आइतबारदेखि देशमै पहिलोपटक फोरजी सेवाको औपचारिक सुरुवात गरेको छ । 

एक समारोहका बीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार(राम) कार्कीले फोरजी सेवाको लोगो अनावरण गरी यो सेवाको औपचारिक सुुरुवात गरेका हुन् । 

सो अवसरमा मन्त्री कार्कीले सूचना प्रविधिमा भएको विकासमार्फत सूचना क्रान्तिका लागि तयार रहनु पर्ने आवश्यकतामा जोड दिदै यसका लागि फोरजी एलटीई सेवाले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले गाउँ गाउँमा ब्रोडब्यान्डमार्फत सेवा दिन नेपाल टेलिकम सक्षम भएको भन्दै प्रशंसा गरे । 

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम, सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रतिस्पर्धी बजारमा प्रविधिमैत्री बन्नु आवश्यक भएको बताउँदै फोरजी सेवाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री बनाउन समेत सहयोग पुग्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सेवा सुरुवात गर्न ३ महिनाको समयसीमा दिएकोमा नेपाल टेलिकमले समयमै यो कार्य सम्पन्न गरेकोमा बधाई दिदै आगामी दिनमा समेत आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।   

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजीको विश्व मानचित्रमा समावेश हुने अवसर पाएकोमा गौरव महसुस भएको बताउँदै यसबाट नेपाल टेलिकमले सेवाग्राहीको मन जित्न सफल हुने विश्वास ब्यक्त गरिन् । उनले पहिलो चरणमा काठमाडौँ र पोखरा उपत्यकाका  सेवाग्राहीहरुको लागि पिक डेटा रेट ३२.४ एमबीपिएस डाउनलोड स्पीड प्रदान गर्न सक्ने नेटवर्क संचालनमा ल्याएको र  देशको सम्पूर्ण भू–भागमा यो सेवा क्रमिक रुपमा थप हाई स्पीड डेटा सर्भिसको रुपमा पुर्याउने लक्ष्यका साथ गृहकार्य अगाडि बढाइएको बताइन् । 

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालयका निर्देशक अशोककुमार थापाले काठमाडौं उपत्यका तथा पोखरामा फोरजी सेवा संचालन गर्न विद्यमान साइट तथा नेटवर्कमा केही अपग्रेड गरी छोटो समयभित्रै सेवा संचालनका लागि आपूर्तिकर्ता हुवावे टेक्नोलोजीसँग सम्झौता हुने जानकारी दिए । हाल एक पटकमा झण्डै ३ लाख ५० हजार ग्राहक समेट्न सकिने जानकारी दिदै उनले आगामी दिनमा कम्पनीको सवल वित्तीय अवस्थाको सुनिश्चित गराउन समेत फोरजी सेवा नै प्रमुख आधार बन्ने विश्वास व्यक्त गरे । 

नेपाल टेलिकमका अनुसार हाललाई जिएसएम पोष्टपेड मोवाइलमा मात्र यो सेवा उपलब्ध हुनेछ । यसका लागि सेवाग्राहीले *444# डायल गरी रजिष्टर गर्न सकिन्छ । सन् २०१७ जनवरी भित्रमा फोरजी सेवाका लागि रजिष्टर गर्ने जिएसएम पोस्टपेड प्रयोगकतालाई फोरजी प्रोमोसनल प्याकेजको रुपमा प्रतिदिन १ जिबीको दरले ४ दिनका लागि डाटा निःशुुल्क प्रदान गरिनेछ ।

यो सुविधा उपभोग गरिसकेपछि अन्य विभिन्न डाटा प्याकेज खरिद नगरेको अवस्थामा विद्यमान डाटा महसुल दर रु. एक प्रति एमबी लाग्नेछ । साथै हाल जिएसएम पोष्टपेट मोवाइल सेवाग्राहीहरुलाई उपलब्ध रहेका विभिन्न डाटा प्याकेजहरु लिई फोरजी सेवा उपभोग गर्न सकिन्छ । भविष्यमा पनि डाटा सेवालाई थप विविधिकरण गरी अझ आकर्षक बनाइने टेलिकमको प्रतिबद्धता छ । 

नेपाल टेलिकमको जिएसएम मोवाइलमार्फत नेपाल टेलिकमको वेबसाइट (www.ntc.net.np), रिचार्ज गर्ने वेबसाइट (webrecharge.ntc.net.np) र Meet (www.meet.net.np) browse  गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ । 

आइतबार नै पोखरामा समेत एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरियो । नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक सिद्धप्रताप भारतीले काठमाडौंमा गरिएको शुभारम्भ समारोहलाई फोरजी नेटवर्कमार्फत यूूट्यूूब भिडियो देखाएर यसको शुभारम्भ गरेका थिए ।