काठमाण्डौ । विश्वका धनी देशहरुको क्लब मानिने वल्र्ड इकोनोमिक फोरमको स्वीट्जरल्याण्डको डाभोसमा हुन लागेको सम्मेलनमा अमेरिकाबाट कसैको पनि सहभागिता नहुने भएको छ । 

अमेरिकाबाट डाभोस जाने डेलिगेट्सको पूर्वनिर्धारित भ्रमण रद्ध भएको हो।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत डाभोसको पूर्वनिर्धारित भ्रमण रद्ध गरेको प्रष्ट्याएका थिए ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह स्याण्डर्सलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार अमेरिकाको छिमेकी देश मेक्सिकोको सीमामा पर्खाल लगाउन भन्दै ट्रम्पले बजेट मागे पनि त्यसमा कंग्रेसले साथ नदिंदा त्यहाँका सरकारी कार्यालयमा सटडाउन चलिरहेको छ । सटडाउनको २७ औं दिनसम्म अमेरिकाका ८ लाख अमेरिकी कर्मचारीले तलब पाइरहेका छैनन् र उनीहरु विदामा पठाइएका छन् । यस्तो परिस्थिति छाडेर ट्रम्प डाभोस जान नचाहेका स्याण्डर्सको प्रष्टोक्ति छ ।

जनवरी महिनाको सुरुवातमै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका थिए–‘सीमा सुरक्षाको बिषयमा डेमोक्र्याट्सहरुको अन्तरमत र हाम्रो मुलुकको सुरक्षाको सवाल महत्वपूर्ण भएकोले म मेरो डाभोसको अत्यन्त महत्वपूर्ण भ्रमण नै रद्ध गर्ने निश्कर्षमा पुगेको छु । वल्र्ड इकोनोमी फोरमप्रति मेरो उच्च सम्मान छ र म सबैसँग माफी माग्न चाहन्छु ।’

डाभोसमा हुन लागेको वार्षिक सम्मेलनमा विभिन्न देशका राष्ट्रप्रमुख, अर्थमन्त्री लगायतको सहभागिता रहने बताइएको छ । 

नेपालबाट समेत प्रधानमन्त्री केपी शर्मा ओली सो सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरिसकेका छन् । 

धनीहरुको क्लब मानिने वल्र्ड इकोनोमी फोरमको सम्मेलनमा नेपालको पहिलो सहभागिताको बिषयलाई अहिले चासोको साथ हेरिएको छ ।