काठमाण्डौ । नियामक कमजोर बन्दा सेयरबजारमा खेल्दै साधारण लगानीकर्ता डूूबाउने क्रम जारी छ । सोमबारको बजार परिसूचकको गिरावट र त्यसको समानान्तरमा घटेको कारोबार रकमले समेत आगामी दिनमा समेत बजार घट्नसक्ने संकेत गरेको विश्लेषकहरु बताउँछन् । उनीहरुको भनाईमा बजारको इण्डेक्स(सूचक) र कारोबार(टर्नओभर) समानान्तरले घट्दा भविष्यमा बजार अझ घट्नसक्छ । आइतबार र सोमबार दुवै दिनको प्रवृति यस्तै छ । 

नेपालको सेयर बजारमा लामो समयदेखि विभिन्न गिरोहहरुले खेल्दै आएका छन् । सूचिकृत कम्पनीहरुले धमाधम राम्रो लाभांश घोषणा गरिरहेका, कतिपयले लाभांश पारित गराउन साधारणसभा आह्वान गरिरहेका र कतिपयले साधारणसभाबाट घोषित लाभांश पारित गरी लगानीकर्तालाई रिटर्न दिइरहेका बेला सेयर बजार भने घटिरहेको छ । राजनीतिक वातावरण सुध्रिएर चुनावको मिति नजिकै आएको, देशको अर्थतन्त्रमा आशाको किरण छाई देश शोधानान्तर बचतमा रहेको अवस्थामा बढ्नुको साटो बजार उल्टो घटिरहेको छ । 

बजारमै निर्भर ‘सर्टटर्म’ कारोबारीले बजार घटबढलाई केही मद्धत गरे पनि बजारलाई चलाउने समूह भने अर्कै छ । जुन समूहमा ब्रोकरदेखि नियामक निकायका अधिकारीहरुको समेत संलग्नता छ । जसले आफू अनुुकुल बजारलाई घटाउने र बढाउने खेल खेलिरहन्छ । पछिल्लो समय सबै कुरा सकारात्मक हुँदा हुँदै पनि बजार नघट्नुुलाई धेरै विज्ञहरुले ‘चलखेलकै परिणाम’ भनेका छन्।

आइतबार दोहोरो अंकले घटेको बजार सोमबार ६.५६ अंकले घटी नेप्से परिसूचक १४६९.१६ विन्दूमा समेटिन पुुगेको छ । यो दिन अन्य समूह बाहेकका सबै समूहको सूचकमा रातो पोतियो । बैकिङ समूह ७ अंकले घट्यो भने बिमा समूह २९.२५, विकास बैंक समूह ५.२७, माइक्रोफाइनान्स १०.७६, बित्त ४.२३, जलविद्युत समूह १३.७७, होटल समूह २०.८७, टेडिंग समूह ११.५७ अंकले घटेका छन् । अन्य समूह भने २.८९ अंकले बढेको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण १.५२ अंकले सेन्सेटिभ इण्डेक्स घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५८ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६१ कम्पनीका ११ लाख ५२ हजार ५ सय ४० कित्ता सेयर ३९ करोड ७७ लाख २२ हजार ३ सय ९३ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एभरेष्ट बैंकले २ करोड ६७ लाख बढीको कारोबार गर्यो । सिभिल बैंकले २ करोड ५३ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ७८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६८ लाख बढीको कारोबार गरे । प्रभूू बैंकको १ करोड ४४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नबील बैंकले १ करोड ३६ लाख, बैंक अफ काठमाण्डूूले १ करोड २४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड १६ लाख, एनआइसी एशियाले ९५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । अरुण फाइनान्सको मूल्य ७.२८ प्रतिशतले बढ्यो ।

यो दिन नेपाल हाइड्रो डेभलपर्स लिमीटेडले सबैभन्दा बढी ९ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमायो । सिर्जना फाइनान्सको मूल्यमा साढे ७ प्रतिशतभन्दा बढीको गिरावट आयो ।