-अफजल हुसेन 
यो  संसारमा तीन थरिका मनसाय भएका मान्छेहरु बस्छन् र उनीहरुको बोलचाल छलफल गर्ने तरिकाहरु पनि एकअर्कामा फरक फरक हुन्छन् । यी तीनमध्ये पहिलो हो उच्च विचार भएका मान्छेहरु जो छलफल गर्छन, रचनात्मक काममा ध्यान दिन्छन् । साथै विकास र उन्नतिमा गहकिला विचार राख्छन् । 

दोस्रो हो सामान्य अर्थात एभरेज माइण्ड भएका मान्छेहरु । एभरेज माइण्ड भएका मान्छेहरु सकिएका तथा विगतमा भएका कामहरुको बारेमा छलफल गर्छन् । 

तेस्रो भनेको न्यारो माइण्ड अर्थात साँघुरो विचार भएका मान्छेहरु  । यस्ता मान्छेहरु जहिले पनि अरु मान्छेको बारेमा कुरा गर्छन् । हामी जुन स्तरको सोंच आफूमा विकसित गर्छौ त्यही अनुसारको उपलव्धि हात लाग्छ । 

जबसम्म हामी कुन सक्रिय तथा इनोभेटिभ र विकसित तरिकाको कुरा गर्दैनौ, तबसम्म यस्ता सोचहरु हामीमा आउँदैनन् अनि यस्ता छलफलमा विशाल भावना र सोंच भएका मान्छेहरु नै देख्ने गरिन्छ । 

एउटा कलाकारले आफूभित्र उब्जेको कुरा गीतमार्फत पोख्दा त्यो गीत हाम्रो देशका शासकहरुका लागि छलफलको विषय हुन्छ । एउटा सानो विषयलाई छलफलको विषय बनाएर दिनभर संसदमा भाषण गरिन्छ र भत्ता पचाउने काम हुन्छ । यसै उदाहरणबाट हामी अनुमान गर्न सक्छौं कि हाम्रो स्तर कहाँ छ र अनि हामीहरु कत्तिको अपेक्षा राख्नसक्छौ, हाम्रा राजनीतिज्ञबाट देश विकास र समृद्धिको ।

देशलाई एउटा दिशा निर्देशन गर्न राजनीतिज्ञको भूमिका महत्वपूर्ण हुन्छ  । विडम्बनाको कुरा यो छ कि हाम्रो देशले ७६१ जना राजनीतिज्ञहरुलाईसरकारभित्र अर्थात देशको शासकको रुपमा समावेश गरेका छौ । तर यीमध्ये एउटा पनि दुरदर्शी नेता नेतृत्व भएको व्यक्ति पंक्तिकारको नजरमा देखिएको छैन । यिनीहरुले आफ्ना आसेपासे भरौटेलाई जागिर दिनुबाहेक केही पनि गर्दैनन्, गरेका छैनन् । यस्तो नेतृत्वबाट सुखी नेपाली र समृद नेपालको अपेक्षा गर्नु हाम्रो भूल जस्तै हो । 

कसले भन्छ नेपाल एउटा गरीब मुलुक हो भनेर ? नेपाल गरीब छैन, हामी थुप्रै कुरामा धनी छौं । गरीब भनेको हाम्रो सोंच हो । हामी जनतादेखि शासकहरुको सोंच नै गरीब छ । यसैबारेमा एउटा सानो उदाहरुण हेरौँ । 

एकजना मानिस रोटी खाइरहेका थिए, अनि उनले त्यो रोटीबाट एउटा सानो टुक्रा पारेर त्यही रोटीसँग मिसाएर खाने गर्दथे । एकजना विज्ञले त्यो देखेछन् र सोधेछन्, “भाई तिमी यो रोटीसँग के मिसाएर खाईरहेका छौ ?” अनि त्यो मान्छेले जवाफ फर्काएछ, “म यो टुक्रालाई नुन र अचार सम्झेर यो रोटीसँग मिसाएर खादैछु ”। विज्ञले हास्दै भनेछन, ्“यदि तिमी यो टुक्रालाई नुन तथा अचार सम्झिएर खाइरहेका छौ । किन मासु अथवा मिठाई सम्झोर खादैनौ । यही मासु तथा मिठाई सम्झेर खायौ भने यसको मज्जा अर्कै हुन्थ्यो होला नि ।” विज्ञले यसो भनिरहँदा त्यो मान्छेको जवाफ थियो, “हजुर मेरो बाजे बुबा कसैले पनि अचार तथा नुन भन्दा ठूलो सोचेनन् भने म कसरी सोचूँ ?” 

यहाँ यो भनाईको तात्पर्य यो हो कि जहिले पनि ठूला सोंच भएका मान्छेहरु माथि पुग्छन् र अगाडि बढ्छन् । तपाई पनि ठूलो सोंच राख्नुहोस । हामीले पनि ठूलो सोंच राख्यौंँ भने नेपाललाई विश्वमा स्वीट्जरल्याण्डको रुपमा चिनाउन सक्छौ । 

हाम्रो संविधानमा यस्ता थुप्रै कानुनहरु छन्, जुन हामी सबैको हकहितका लागि बनेका छन् । र कार्यान्वयन पनि भएका जति भइरहेका छन् ।

सरकारका थुप्रै विभागहरु अहिले परिस्कृत भइसकेका छैनन् जुन आजभन्दा ३० देखि ४० बर्ष पुराना थिए । अहिले पनि त्यही गतिमा चलिरहेका छन् । 

यी सबै विभागहरु संक्तिबद्ध भए पंक्तिकार ग्यारेण्टी दिन्छ कि हाम्रो अर्थतन्त्रमा ठूलो प्रभाव पर्नसक्छ । यसका लागि कुनै बजेटको आवश्यकता पर्दैन । खाँचो छ हाम्रो आफ्नै प्रयास, समयनिष्ट प्रवृति र नैतिकताको ।

हामी जनताले यस्तै ठूला अपेक्षा देशका शासकहरुसँग राखेका छौं । हाम्रो देश प्राकृतिक सम्पदामा विश्वमै धनी छ ।  हामीहरु धेरै सजिलोसँग यसलाई अगाडि बढाउनसक्छौ र विकसित देशसँग प्रतिस्पर्धा गर्न सक्छौ । 

वास्तवमा देशको प्रगति गर्ने हो भने सबै विभाग र निकायहरुमाथि काम गर्नु अति आवश्यक छ, जस्तै खाद्यान्नको गुणस्तर, नापतौल, होटलको खाना, पानी, सरसफाई, पर्यटन विभाग, वनजंगल, अनि देशको रोड हेर्ने ट्राफिक विभागहरु इत्यादि । यी सबै विभाग र निकायले आफ्नो काम इमानदारीका साथ गरेको खण्डमा हामी नेपालीले विकासको गति देख्न समय लाग्दैन । 

अब हामीलाई यो सबैको लागि जिरो बजेट चाहिएको छ । विश्वका विकसित देशहरु जस्तै स्वीट्जरल्याण्ड, जर्मनी, मिडिलइस्ट  । यसका सरकारहरुले बजेटमाथि आफ्नो ध्यान आकर्षित गर्दैनन् । यी देशका शासकहरु सिस्टमलाई कडाईका साथ पालना गर्छन् र जहिले पनि देशका नियम प्रणालीलाई सम्मान गर्छन् ।  

एउटा महत्वपूर्ण कुरा यहाँहरु समक्ष सेयर गर्न चाहान्छु । अक्षरहरु बि,सि डि आउँछ । बि को मतलव जम्म बर्थ अर्थात जन्म , डि को मतलव डेथ अर्थात मृत्यु अनि यी वि र डि को बीचमा सी आउँछ  । यसको अर्को मतलव छनौट अर्थात च्वाइस । यो जन्म र मरनको बीचमा आफ्नो छनौट आउँछ, यो हाही सबै जनताको हातमा छ । 

हामी विवाह गर्दा, कपडा किन्दा, खाना खाँदा अनि व्यवहार गर्दा सबै छानी छानी आफ्नो रोजाई अनुसार गर्छौ । तर, नेताहरुलाई छनौट गर्दा किन हामीहरुसँग यस्तो ठूलो चुक हुन्छ ? के यसका कारणहरु एकछाकको मासु अनि रक्सी अथवा केही पैसाको लालच त होइन ? एउटा कुरा ध्यानमा राख्न जरुरी छ कि एकक्षणको सुख आनन्दले हाम्रो भविष्य अनि हाम्रा बच्चाहरुको भविष्यमा ग्रहण लगाइदिनसक्छ ।

(लेखक दुवईमा कार्यरत नेपाली इञ्जिनियर हुन् ।)