काठमाण्डौ । देशका सबै, २८ वाणिज्य बैंकहरुले दोश्रो त्रैमासको अपरिस्कृत प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुले सार्वजनिक गरेका विवरणका आधारमा कुन बैंकले कस्तो प्रगति गर्दैछ वा कसको रफ्तार कस्तो छ भन्ने आँकलन भइरहेको छ । 

बिजशालाले केही समयअघि सबै वाणिज्य बैंकको मुख्य १० सूचकको चिरफारको प्रयास गरी विशेष सामाग्री प्रस्तुत गरिसकेको छ । यही क्रममा दोश्रो त्रैमासमा बैंकहरुको प्रमुख सूचकहरुमा कसको सबैभन्दा कमजोर प्रस्तुती रह्यो, सो विषयमा यहाँ विश्लेषण गर्ने कोशिश गरिएको छ । 

हामीले योपटक ९ वटा प्रमुख सूचकहरुमा दोश्रो त्रैमास अवधिमा कुन बैंकको प्रस्तुती सारै नै कमजोर रह्यो भन्ने कोणबाट विश्लेषण गरेका छौ । अर्थात  हामीले प्रगतिको उल्टोतर्फबाट टप फाइभ बैंकको सूचि  बनाएका छौ । 

हामीले ९ वटा प्रमुख सूचक हेर्दा सबैभन्दा कमजोर प्रगति गर्दै माछापुच्छे बैंक अवन्नतिको बाटोतर्फ सबैभन्दा बढी अग्रसर भएको देखिएको छ  । ९ वटा सूचकमा २८ वाणिज्य बैंकमध्ये सबैभन्दा कमजोर  प्रदर्शन  वा प्रगति गर्ने मुख्य ५ बैंकहरुको सूचि हामीले यो क्रममा तयार  गरेका थियौं ।

अन्तिम ५ बैंक(कमजोर बैंक)को सूचिमा ९ वटा सूचकमध्ये ७ वटा सूचकमा समेटिएर माछापुच्छे बैंक सबैभन्दा कमजोर बनेको छ । 

यो बैंकको प्रगति खूद ब्याज आम्दानी, रिजर्ब कोष, निक्षेप परिचालन, संचालन नाफा, खूद नाफा, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानीमा कमजोर देखियो । यी सबै सूचकतर्फको  प्रगति(बढोत्तरी)मा कमजोर ५ बैंकमध्ये माछापुच्छे कमजोरमध्येकै टप ३ मा परेको देखियो । यसैगरी, खूद ब्याज आम्दानीमा यो बैंक चौथो कमजोर, रिजर्बतर्फको प्रगतिमा दोश्रो कमजोर, संचालन नाफातर्फ चौथो कमजोर, खूद नाफातर्फ पनि चौथो कमजोर, नेटवर्थतर्फ पाँचौ कमजोर र इपीएसतर्फ तेश्रो कमजोर देखियो । दोश्रो त्रैमासको सबैभन्दा कमजोर प्रस्तुती तथा  प्रगति बैंकले आगामी त्रैमासमा सुधार नगरे यो बैंकको सेयरमा लगानी जोखिमपूर्ण साबित हुनेछ ।

कुल ९ मध्ये ५ वटा सूचकमा कमजोरमध्येका ५ बैंकको सूचिमा नेपाल बंगलादेश(एनबी) बैंक र कृषि विकास बैंक पनि परे । नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेतृत्व गरेको एनबी बैंक निक्षेप परिचालन, संचालन नाफा, खूद नाफा, इपीएस र खराब कर्जातर्फको सुस्त प्रगतिका कारण सबैभन्दा कमजोर  बैंकको दोश्रो नम्बर देखियो । यसको अर्थ निक्षेप परिचालन गर्न नसक्ने कमजोर बैंकको सूचिमा यो बैंक  चौथो नम्बरमा, संचालन नाफातर्फको प्रगतिमा कमजोर रहेका ५ बैंकमध्ये पाँचौ,  खूद नाफातर्फको  प्रगतितर्फ कमजोर बैंकको सूचिमा तेश्रो, प्रतिसेयर आम्दानी गिरावटतर्फ सबैभन्दा कमजोर,  खराब कर्जा घटाउन नसक्ने बैंकको सूचिमा चौथो नम्बरमा परेको छ । यो बैंकको पीई पनि २६ गुणा रहेको छ ।

कृषि विकास बैंक खूद ब्याज आम्दानी, रिजर्ब, कर्जा परिचालन, संचालन नाफा, नेटवर्थतर्फको प्रगतिमा समेत कमजोर देखिएको छ । 

प्रगतिको आधारमा कमजोर ५ बैंकहरुतर्फ ९ सूचकमध्ये ४ सूचकमा प्रभू बैंक पनि परेको छ । यस्तै, ३ सूचकतर्फको प्रगतिमा सबैभन्दा कमजोर ५ बैंकमा एनसीसी र बीओके समेत समेटिएका छन् ।

लक्ष्मी बैंक, एसबीआई, नेपाल बैंकको २ २ सूचकमा कमजोर प्रस्तुती देखियो ।