काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गतेदेखि निश्कासन गरेको आइपीओमा अचाक्ली आवेदन परेको छ ।

आइपीओको बिक्री खुल्ला गरिएको २ दिनमै मागभन्दा ६.१६ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

क्यापिटलका एक अधिकारीका अनुसार बैशाख ३१ गते र जेठ १ गते गरी आइपीओमा ४७ करोड १२ लाख भन्दा केही बढीको आवेदन परिसकेको छ । 
जेठ २ र ३ गतेसम्म आवेदन दिने समय भएको र अधिकांश आइपीओमा पछिल्ला दिनमा अझ बढी आवेदन पर्ने ट्रेण्ड रहेकोले यसमा अचाक्ली आवेदन पर्ने प्रष्ट देखिन्छ । यसले लगानीकर्ताहरु प्राथमिक बजारप्रति कतिसम्म आकर्षित छन् भन्ने पनि देखाउँछ । 

कम्पनीले सर्वसाधारण लगानीकर्ता, आफ्ना कर्मचारी तथा म्युचुअल फण्डहरुका लागि समेत गरी ८ लाख ४० हजार कित्ता आइपीओ अंकित मूल्य १०० रुपैयाँमा निश्कासन गरेको हो । 

स्वीकृत कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ३३ हजार ६ सय रैराङका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी ९१ प्रतिशतले हुन आउने ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।  

कम्पनीले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार २ सय कित्तासम्मका लागि खरीद गर्न सकिने बताएको छ । 

जेठ ३ गतेसम्म कम्पनीको आइपीओ बिक्री खुल्ला हुनेछ । 

यो जलविद्युत कम्पनीले गत जेठमा आयोजनास्थल पाँचथर र ताप्लेजुङका सर्वसाधारणका लागि ५  करोड ६० लाख रुपैयाँको आइपीओ बिक्री गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि दोश्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन हुन लागेको हो । 

हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ । कम्पनीमा  संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेकोमा त्यसलाई घटाउन आइपीओ जारी गरिएको हो ।

रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ । यो आयोजनामा २५ प्रतिशत सेयर स्वामित्व रिडी हाइड्रोपावरको रहेको छ ।