काठमाण्डौ । निकट भविष्यमै दोश्रो बजारमा कारोबार हुने म्युचुअल फण्ड(सामूहिक लगानी योजना)हरुको समेत अलग्गै समूह र सूचकांक निर्माण हुने भएको छ । 

धितोपत्र बोर्डले हालै नेपाल स्टक एक्सचेञ्जलाई एत्र परिपत्रमार्फत यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो । 

बोर्डले दोस्रो बजार सूचना प्रवाहमा सुधारका लागि म्युचुअल फण्डहरुको समेत अलग्गै परिसूचक निर्माण गर्नुपर्नेमा जोड दिएको हो । 

धितोपत्रको दोस्रो बजारमा आ.व २०६९/७० देखि सामूहिक लगानी योजनाहरुको प्रवेश भएसँगै पछिल्लो समय दोस्रो बजारमा यस्ता योजनाको संख्या १३ पुगी सहभागिता बढ्दै गएको र हाल नेपालको सन्दर्भमा सामूहिक लगानी योजनाहरुले विशेष संस्थागत लगानीकर्ताको संलग्नताको अभावमा संस्थागत लगानीकर्ता जस्तै कार्य गरिरहेका बोर्डको भनाई छ ।

‘सामूहिक लगानी योजना व्यवसायिक एवं दक्ष कोष व्यवस्थापकद्वारा व्यवस्थापन हुने, यसमार्फत् संकलित रकम विशेष अध्ययन तथा विश्लेषण गरी पोर्टफोलियो व्यवस्थापनको सिद्धान्त अनुसार लगानी गरिने हुँदा शेयर खरिद बिक्रीमूल्यको सूचकांकभन्दा सामूहिक लगानी योजना खरिद बिक्रीमूल्य सूचकांकमा आउने उत्तारचढाव बढी विवेकपूर्ण हुने सन्दर्भमा समग्रमा सामूहिक लगानी योजना समूहको कारोवार मूल्यको वास्तविक अवस्थाको जानकारीका लागि यस समूहको पनि एक छुट्टै सूचकांकको विकास गरिएमा बजार बढी यथार्थ तथा विश्वसनीय हुने देखिन्छ ।’ बोर्डले निर्देशनमा भनेको छ–‘यसबाट सामूहिक लगानी योजना समूहको यथार्थ स्थितिको जानकारी लिन, लगानीकर्ता तथा अन्य सरोकारवालाले सामूहिक लगानी योजना समूहलाई समग्र बजार सूचकांक तथा अन्य समूहको सूचकांकसँग तुलना गर्न र समग्र बजार प्रवृतिलाई उपयुक्त रुपमा विश्लेषण गर्न सकिन्छ ।’ 

यहीकारण सामूहिक लगानी योजनाको समेत सूचकांकको विकास गरी नेप्सेको वेबसाइट र सम्बन्धित दस्तावेज र राष्ट्रिय दैनिक पत्रिका तथा अनलाइन पोर्टलहरुमा समावेश गरी प्रकाशन गर्न पहल गर्न नेप्सेलाई बोर्डले आग्रह गरेको हो ।