काठमाण्डौ । लगानीकर्ताहरुलाई बजारसम्बन्धी तथ्यपूर्ण एवं विश्वसनीय सूचना एवं जानकारी उपलब्ध गराउन सूचना प्रवाह सुदृढ गर्दै जाने क्रममा धितोपत्र बोर्डले स्टक डेरिभेटिभ मार्केटको विकासका लागि पहल थाल्न नेप्सेलाई निर्देशन दिएको छ । 
 
केही दिनअघि नेप्सेलाई परिपत्र गर्दै बोर्डले दोश्रो बजार सम्बन्धी सूचनालाई अझ तथ्यपरक र विश्वसनीय बनाउनका लागि आवश्यक पहल थाल्न निर्देशन दिएको हो । 
 
धितोपत्रको दोस्रो बजार गतिविधि तथा सम्बन्धित जानकारीलाई यथार्थपरक बनाउन र बजारसम्बन्धी जानकारीमा सबैको पहँुच अभिबृद्धि गर्न नेपाल स्टक एक्सचेञ्जबाट गरिने परिसूचकहरुको गणना तथा सोसम्बन्धी जानकारी प्रवाहमा सुधार ल्याउन आवश्यक पहलका लागि बोर्डले साउन २७ गते निम्न अनुसार निर्देशन दिएको छ:
  1. उक्त लिमीटेडबाट आ. व. २०५०।५१ देखिनै गणना गर्ने र वेबसाइट तथा विभिन्नपत्रपत्रिकामार्फत् प्रकाशनगर्ने गरिएको नेप्से सूचकांक गैरकारोबारीय शेयरको रुपमा रहेका संस्थापक शेयर (करिब ६५ प्रतिशत) तथा सर्वसाधारणसँग हुने कारोबारीय शेयर (करिब ३५ प्रतिशत) दुवैको आधारमा गणना गरिने हुँदा यी परिसूचकहरुले समग्र बजार परिसूचकको रुपमा बजारको समिष्टिगत रुपमा संकेतात्मक प्रतिनिधित्व गरिरहेको हुंदा उक्त नेप्से सूचकांकको गणनाको साथै त्यसै अनुसारको बजार पूँजीकरणलाई यथावत रुपमा दैनिक समेत प्रकाशन गरी निरन्तरता दिने व्यवस्था गर्ने ।
  2. करिब ६५ प्रतिशत संस्थापक शेयरको भारले गर्दा समष्टिगत परिसूचक—नेप्से बेलावेलामा अस्थिर समेत हुनसक्ने हालको अवस्थालाई दृष्टिगत गरी कारोबारयोग्य सेयरको मूल्यको  आधारमा मात्र २०६५ सालदेखि गणना गर्न शुरु गरिएका फ्लोट सूचकांकले बजार मूल्य प्रबृत्तिको सही एवं यथार्थ प्रतिनिधित्व गर्ने हुंदा यस सूचकांकका साथै फ्लोट बजार पूँजीकरणलाई समेत आवश्यक महत्व दिई त्यस लिमीटेडको वेबसाइट, नियमित दैनिक प्रकाशन तथा अन्य सम्बन्धित दस्तावेजहरुमा समावेश गरी प्रकाशन गर्न आवश्यक व्यवस्था गर्ने ।
  3. लगानीकर्तालाई धितोपत्रको दोस्रो बजारमा हुने हरेक कारोबार दिनको सूचकांकहरुमा अन्तिम बिन्दूको मात्रै सूचकांक दिने गरिएकोमा बजारमा उपलब्ध तथ्यांक÷सूचना लगानीकर्ताहरुलाई सकेसम्म बढी प्रदान गर्नुपर्ने सन्दर्भमा मुख्यत नेप्से र फ्लोट सूचकांकको शुरु, उच्चतम, न्यून र औसतको समेत नियमित जानकारी दिन उपयुक्त हुने देखिएकोले त्यस लिमीटेडमा कारोबार भएका सूचीकृत कम्पनीहरुको शेयर कारोबारको शुरु, उच्चतम, न्युूनतम, अन्तिम र तिनीहरुको औसत समेतको सार्वजनिक रुपमा जानकारी दिने कार्य अगाडि बढाउने ।
  4. धितोपत्रको दोस्रो बजार कारोवारको लागि आवश्यक न्यूनतम व्यवस्थाहरु पूरा भई निरन्तर कारोवारको शुरुवात भएको हाल २५ वर्ष पूरा हुनुका साथै बोर्डले धितोपत्रबजार नियमन निकायहरुको अन्तरराष्ट्रिय संगठनको सदस्यता लिई नेपालको धितोपत्रबजार अन्तरराष्ट्रिय मूलप्रवाहमा समावेश भईसकेको हालको परिप्रेक्ष्यमा बजारको स्तर अभिबृद्धि गर्न स्टक डेरिभेटिभ मार्केटको समेत शुरुवातका लागि स्टक डेरिभेटिभ परिसूचकको कारोवारको संभावना सम्बन्धमा अध्ययन गरी आवश्यक कार्य अगाडि बढाउने ।
नेपाल स्टक एक्सचेञ्जले स्थापनाकालदेखि हालसम्म धितोपत्रको दोस्रो बजार कारोवारसम्बन्धी विभिन्न परिसूचकहरुको गणना तथा सार्वजनिक रुपमा प्रकाशन गर्ने क्रममा प्रारम्भदेखि नै नेप्से सूचकांक तथा बजार पूँजीकरण र वि.सं. २०६५ देखि सेन्सेटिभ सूचकांक, सेन्सेटिभ बजार पूँजीकरण, सूचीकृत कम्पनीहरुको समूहगत मूल्य सूचकांकहरु समेत गणना तथा प्रकाशन गर्दै आएको छ । 
 
धितोपत्रको दोस्रो बजारको सूचकांकले विशेषतः धितोपत्रबजारका गतिविधिको मापन गर्नुका साथै मुलुकको अर्थतन्त्रको अवस्था तथा प्रबृत्तिलाई समेत संकेत गर्ने भएकोले यो सूचकांक वास्तविक, यथार्थपरक र सबैका लागि पहुँचयोग्य हुन आवश्यक भएकोले बजार परिसूचकहरु गणना गर्दा धितोपत्रबजारको यथार्थ जानकारी हुने गरी गणना गर्ने, बजार विकासको अवस्थाअनुसार अन्य परिसूचक समेत गणना गर्ने र यसरी गणना गरिएका परिसूचकहरु उपयुक्त रुपमा प्रकाशनमा ल्याउने कार्य अगाडि बढाउन आवश्यक देखिएको बोर्डको निश्कर्ष छ ।