काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले दोश्रो बजारको सेयर कारोबार समय बढाउनुपर्ने सुझाव दिएका छन् । 

नेपाल स्टक एक्सचेञ्जको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाले यस्तो सुझाव दिएका हुन् । 

हाल नेपालको सेयर बजारमा आइतबारदेखि बिहीबारसम्म कुल साताको ५ दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै सेयर किनबेच हुने गरेको छ । ढुंगानाले दैनिक रुपमा सेयर किनबेच हुने यो समय बढाउनुपर्ने विचार व्यक्त गरेका हुन् । 

बजारको नियामक बोर्डको कार्यकारी अधिकारसहितको अध्यक्ष भएका कारण ढुंगानाको यो सुझाव कार्यान्वयनमा नेप्सेले समेत चासो दिनुपर्ने बाध्यता छ । यसर्थ यो सुझावको समयमै कार्यान्वयन भए अब दोश्रो बजारको सेयर किनबेच गर्ने समय बढ्ने संभावना देखिन्छ । 

अध्यक्ष ढुंगानाले ऋणपत्रको कारोबारमा समेत जोड दिएका छन् । उनले नयाँ वित्तीय औजारको विकास गरी पूँजीबजारको विस्तार गर्नुपर्ने र दायरा फराकिलो पार्नुपर्ने विचार समेत व्यक्त गरे । 

अनलाइन कारोबार प्रणालीमा डिम्याट र बैंक खाता इन्टीग्रेसन अझै हुन नसकेको उल्लेख गर्दै यो काम पनि तत्काल गर्ने वातावरण मिलाउन उनले नेप्सेलाई निर्देशन दिए ।