काठमाण्डौ । धितोपत्रको दोश्रो बजारको विषयमा ज्ञान नभएका लगानीकर्ताहरुको सानो सानो लगानी जम्मा पारेर त्यसको व्यवस्थापन गरी दोश्रो बजार तथा अन्य वित्तीय औजारहरुमा लगानी गरी रिटर्न दिने उद्देश्यले म्युचुअल फण्डहरु संचालन गरिएको हुन्छ । नेपालमा समेत पछिल्लो समय म्युचुअल फण्ड खोल्ने लहर नै चलेको छ । वाणिज्य बैंकका सहायक कम्पनीहरुले यस्ता फण्डहरुको व्यवस्थापन गरिरहेका छन् । 

म्युचुअल फण्डका लगानीकर्ताको आकर्षण समेत देखिन्छ । तर, दोश्रो बजार बढेको बेला यस्ता फण्डहरु अझ बढी आकर्षण हुन्छ । कारण, यस्ता फण्डहरुको नाफा बढ्दै जान्छ भने लगानीकर्ताले पाउने रिटर्नको संभावना समेत उस्तै गरी बढिरहेको छ । 

पछिल्लो समय धितोपत्रको दोश्रो बजारमा बुल रन चलिरहेको बेला अधिकांश कम्पनीका सेयरमूल्य बढिरहेका छन् । अन्य कम्पनीका सेयर किनेर त्यसबाट आर्जित नाफा नै लगानीकर्तालाई बाँड्ने हुनाले समग्र बजार बढ्दा म्युचुअल फण्डको नेट एसेट भ्यालू(न्याभ) समेत बढ्न थालेको छ । 

बजार बियरिस ट्रेण्डमा कुदेको बेला यस्ता फण्डहरुको न्याभ दयनीय अवस्थामा थियो भने नाफा समेत घटिरहेको थियो । तर, दोश्रो बजार चम्किएसँगै यस्ता म्युचुअल फण्डको नाफा तथा न्याभ दुवै बढ्न थालेको छ । 

माघ मसान्तसम्मको वित्तीय विवरण केही म्युचुअल फण्डहरुले मंगलबार सार्वजनिक गरेका छन् । जसमा सबैको न्याभ र नाफा बढेको देखिएको छ । हेरौं माघ मसान्तसम्म कसको अवस्था कस्तो बनेको छ ?

सानिमा इक्वीटी फण्ड 
सानिमा क्यापिटलको व्यवस्थापनमा संचालित सानिमा इक्वीटी फण्डको प्रति इकाई मूल्य(न्याभ) ११ रुपैयाँ पुगेको छ । माघ मसान्तमा ११ रुपैयाँ पुगेको न्याभ पुस मसान्तसम्म भने १०.५६ रुपैयाँमा सीमित थियो । 

यो फण्डको माघ मसान्तसम्मको कुल नाफा १२ करोड ६२ लाख रहेको छ । पुस मसान्तसम्म कुल नाफा ६ करोड ९५ लाखमा सीमित थियो । यो फण्डले २३ वाणिज्य बैंक, ११ विकास बैंक, १७ लघुवित्त कम्पनी, ३ जीवन बिमा कम्पनी, ४ निर्जीवन बिमा कम्पनी, ७ जलविद्युत कम्पनी, ३ सामूहिक लगानीकोष समूह र अन्यतर्फ २ वटा कम्पनीको सेयरमा कुल ९६ करोड २६ लाख बढी लगानी गरेको छ। 

यो फण्डको सूचिकृत सेयरमा ८९ करोड ४४ लाख लगानी रहेको छ भने बैंक मुद्धती निक्षेपमा १३ करोड, डिवेञ्चर तथा बण्डमा ६ करोड ५२ लाख र सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा ६ करोड ८२ लाख लगानी रहेको छ । 

एनआइसी एशिया ब्यालेन्स फण्ड
एनआइसी एशिया क्यापिटलको व्यवस्थापन र एनआइसी एशिया बैंकको प्रवद्र्धनमा संचालित एनआइसी एशिया ब्यालेन्स फण्डको नाफा समेत ह्वात्तै बढेको छ । पुस मसान्तसम्म  ३ करोड ५४ लाखमा सीमित नाफा बढेर मघ मसान्तसम्म ५ करोड ४१ लाखको उचाई चुमिसकेको छ । 

माघ मसान्तसम्म यो फण्डको न्याभ रु. १०.७२ रहेको छ, जुन पुस मसान्तसम्म १०.४७ रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिसम्म यो फण्डले सूचिकृत भएका सेयरमा ३० करोड रुपैयाँ, ऋणपत्रमा ८ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, सूचिकृत नभएको धितोपत्रमा १ करोड २६ लाख बढी लगानी गरेको छ । मुद्धती निक्षेपमा ६ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । 

समीक्षा अवधिसम्म यो फण्डले १६ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक, ५ वटा हाइड्रोपावर कम्पनी, ५ वटा जीवन बिमा कम्पनी, ४ वटा निर्जीवन बिमा कम्पनी, ५ वटा लघुवित्त संस्था, एउटा म्युचुअल फण्ड र अन्यतर्फ २ वटा कम्पनीमा लगानी गरेको छ । 

एनआइसी एशिया ग्रोथ फण्ड
एनआइसी एशिया क्यापिटलकै व्यवस्थापनमा संचालित अर्को म्युचुअल फण्ड एनआइसी एशिया ग्रोथ फण्डको न्याभ समेत माघ मसान्तसम्ममा बढेको छ । यो अवधिसम्म न्याभ बढेर ११.३३ रुपैयाँको उचाई चुमेको छ । पुस मसान्तसम्म १०.७२ रुपैयाँमा सीमित थियो । 

यो अवधिसम्म यो फण्डले सूचिकृत सेयरमा ५७  करोड ७९ लाख तथा ऋणपत्रमा ३ करोड ७३ लाख लगानी गरिसकेको छ । 

सूचिकृत नभएका सेयरमा ४ करोड १७ लाख लगानी गरेको फण्डले बैंकको मुद्धती निक्षेपको रुपमा ८ करोड ३५ लाख राखेको छ । 

यो फण्डको माघ मसान्तसम्मको नाफा बढेर १० करोड ९७  लाखको उचाईमा पुगेको छ । पुस मसान्तसम्मको नाफा ५ करोड ९१ लाखमा सीमित थियो । 

समीक्षा अवधिसम्म यो फण्डले २२ वाणिज्य बैंक, ९ विकास बैंक, ९ जलविद्युत कम्पनी, १० लघुवित्त कम्पनी, ५ जीवन बिमा कम्पनी, ८ निर्जीवन बिमा कम्पनी, ३ म्युचुअल फण्ड र अन्यतर्फका २ कम्पनीमा लगानी गरेको छ । 

नवील इक्वीटी फण्ड
नवील इन्भेष्मेन्ट बैंकिङ लिमीटेडको व्यवस्थापनमा संचालित नवील इक्वीटी फण्डको न्याभ पनि बढेको छ । पुस मसान्तसम्म ९.६३ रुपैयाँ रहेको न्याभ बढेर माघ मसान्तसम्म १०.२३ रुपैयाँको उचाईमा पुगेको हो । 

समीक्षा अवधिसम्म फण्डको नाफा बढेर १५ करोड १६ लाख पुगेको छ । पुस मसान्तसम्म ७ करोड ६८ लाखमा सीमित थियो । 

यो अवधिसम्म फडले सूचिकृत सेयरमा ६८ करोड ९१ लाख तथा ऋणपत्रमा ८ करोड ५३ लाख लगानी गरेको छ । सूचिकृत नभएका धितोपत्रमा  ६३ लाख लगानी गरेको छ । मुद्धती निक्षेपमा १२ करोड ५० लाख राखेको छ । 

समीक्षा अवधिसम्म यो फडले १९ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक, १० वटा लघुवित्त कम्पनी, ७ वटा जलविद्युत समूहमा पर्ने कम्पनी, ४ वटा जीवन बिमा कम्पनी, ५ वटा निर्जीवन बिमा कम्पनी र अन्य ६ वटा कम्पनीमा लगानी गरेको छ । 

नवील ब्यालेन्स फण्ड २
नवीलकै अर्को म्युचुअल फण्ड नवील ब्यालेन्सड् फण्ड २ को न्याभ समेत बढेको छ । पुस मसान्तसम्म १०.४८ रुपैयाँ रहेको न्याभ बढेर १०.८० रुपैयाँको उचाईमा पुगेको हो । 

समीक्षा अवधिसम्म यो फण्डको नाफा ८ करोड ५० लाख पुगेको छ । पुस मसान्तसम्म नाफा ४ करोड ८३ लाखमा सीमित थियो । 

यो अवधिसम्म फण्डले सूचिकृत सेयरमा ३६ करोड ९२ लाख र ऋणपत्रमा १५ करोड ३४ लाख लगानी गरेको छ । 

सूचिकृत नभएका सेयरमा  ४२ लाख ३५ हजार, ऋणपत्रमा ५० लाख लगानी गरेको छ भने मुद्धती निक्षेपमा ६ करोड २० लाख राखेको छ ।

यो अवधिसम्म फण्डले ९ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ६ वटा लघुवित्त कम्पनी, ३ वटा जीवन बिमा कम्पनी, ६ वटा निर्जीवन बिमा कम्पनी, ३ वटा जलविद्युत कम्पनी र अन्य ६ वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।