काठमाण्डौ । नेप्सेमा सूचीकृत हाइड्रोपावर उपसमूहअन्तर्गत रहेका आधा कम्पनीको सेयरमूल्य अंकित मूल्यभन्दा तल छ ।

नेप्सेमा सूचीकृत हाइड्रोपावर उपसमूहमा रहेका ३३ कम्पनीमध्ये १५ को सेयरमूल्य अंकित मूल्य(रु.१००) भन्दा मुनि दोस्रो बजारमा कारोबार भइरहेको हो । 

यो साताको अन्तिम दिन हिजो बिहीबारको अन्तिम सेयरमूल्यका आधारमा दोस्रो बजारमा रु.१०० भन्दा तल नै सेयर फालाफाल उपलब्ध भइरहेको देखिएको छ । 

कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासन(आइपीओ)मा अंकित मूल्य रु.१०० मा सर्वसाधारणलाई बिक्री गरिएका ३३ हाइड्रोपावरमध्ये १५ कम्पनीका सेयरमूल्य दोस्रो बजारमा अंकित मूल्यभन्दा तल र रु. ५० भन्दा माथि किनबेच भइरहेका छन् । अंकित मूल्यभन्दा निकै तल रहेको सबैभन्दा तल्लो मूल्यको सेयर भने खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको रहेको छ । यसको अन्तिम कारोबार मूल्य रु.५५ रहेको छ भने सबैभन्दा माथिल्लो मूल्यको सेयर चाहिँ अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ ।

सरकारले नेपालका हाइड्रो व्यवसायीलाई विभेदकारी र असन्तुलित व्यवहार गरेकै कारण हाइड्रो टाइकूनहरुसमेत यस क्षेत्रबाट बिस्तारै पलायन हुने अवस्था सिर्जना भइरहेको छ । यद्यपि सरकारले मौद्रिक नीतिमा ऊर्जा क्षेत्रमा बैंकहरुले कुल लगानीको १० प्रतिशत लगानी गर्नैपर्ने प्रावधानले भने थोरै आशाको संचार गरेको देखिन्छ । 

दोश्रो बजारमै अंकित मूल्यभन्दा कममा सेयर फालाफाल रहेको अवस्थामा निश्कासन हुने आइपीओ बिक्री हुने संभावना समेत न्यून देखिएको छ ।