काठमाण्डौ । दोश्रो बजारमा उछाल आइरहेको समयमा आइपीओमा समेत लगानीकर्ताको आकर्षण अचाक्ली बढेको उदाहरण स्वदेशी लघुवित्तको आइपीओको सन्दर्भमा देखिएको छ । यो माइक्रो फाइनान्सले खुलाएको आइपीओमा तेश्रो दिनसम्म मागको तुलनामा करिब ५० गुणा बढी आवेदन परिसकेको छ । मंगलबार चौथो तथा अन्तिम दिन रहेको र यसअघिका आइपीओको अभ्यासमा अन्तिम दिन अझ बढी आवेदन पर्ने देखिएकोले कुल प्रस्ताव निकै माथि पुुग्ने देखिएको हो । 

आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका अनुसार ३ करोड रुपैयाँको आइपीओमा तेश्रो दिनसम्म १ अर्ब ४१ करोड बढीको आवेदन परिसकेको छ । आस्वा र परम्परागत प्रणाली समेत गरी देशभरका संकलन केन्द्रबाट ४१ हजारले आवेदन दिएका छन् । 

सुरुवातको दिनको तुलनामा तेश्रो दिनसम्म आइपुुग्दा आस्वाबाट आवेदन दिनेहरुको संख्या बढेको देखिएको छ । यो दिनसम्म आइपुुग्दा आस्वाबाट ६१ करोड बढी र परम्परागत विधिबाट ८० करोड बढीको प्रस्ताव परेको छ । 

आइपीओका लागि मंगलबारसम्म आवेदन दिने समय थियो । इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १ हजार ५ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थयो ।

यो माइक्रो फाइनान्स कम्पनीले १२ हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि, १५ हजार कित्ता १० वटा म्युुचुुअल फण्ड तथा बाँकी २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओपछि १० करोडको उचाईमा पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ ।