काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक छलाङ मारेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा १२४.१६ प्रतिशतले बढाएको छ । समीक्षा अवधिमा संस्थाले ३ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको सञ्चालन मुनाफा ५ करोड ४० लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा २ करोड २० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले १० करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्ष ५ करोड १३ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय आक्रामक देखाउँछ ।

दोस्रो त्रैमास संस्थाले ९१ करोड ३२ लाख निक्षेप संकलन गरी २ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ५८ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्था रिजर्भको आकारमा ९३.३७ प्रतिशतले बढाएको छ । गत वर्ष ८ करोड ७८ लाख रुपैयाँ रिजर्भमा रहेकोमा समीक्षा अवधिमा बढेर १३ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा संस्थाको चुक्तापुँजी १२ करोड ८७ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी १० करोड ३८ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी ६१.८१ रुपैयाँ रहेको छ ।