काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले दोस्रो बजारमा प्रवेश गर्ने उपयुक्त अवसर अहिले नै रहेको भन्दै नयाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् ।

कर्मचारी सञ्चय कोष ५७ वर्ष पूरा गरी ५८ वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो आह्वान गरेका हुन् । 

बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक नाफा आर्जन गरी आकर्षक लाभांश वितरण गरिरहेका, देशको आर्थिक वृद्धिदर उच्च रहँदै आएको, करसँग सम्बन्धित विवादहरु साम्य भएर गएका लगायतका कारण दर्शाउँदै उनले दोस्रो बजार प्रवेशको स्वर्णिम अवसर अहिले नै भएको उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले दोस्रोबजारका लगानीकर्ताको मनोबल यतिबेला कमजोर रहेको उल्लेख गर्दै वित्तीय संस्था र अन्य सरोकारवालाहरुलाई मनोबल उकास्ने काम गर्न समेत निर्देशन दिएका छन् । 

उनले कर्मचारी सञ्चय कोषलाई प्राथमिक बजार सुधारका लागि भविष्यमा विश्वासिलो काम गर्नसमेत निर्देशन दिएका छन् ।