काठमाण्डौ । सेयर बजारमा व्याप्त करको अन्यौल तथा बढ्दो ब्याजदरलाई नियन्त्रण गर्न मौद्रिक नीतिले कस्तो नीतिग व्यवस्था गर्ला भन्ने बिषयमा लगानीकर्ताले प्रतिक्षा गर्दा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । 

नेप्से परिसूचक १४.०७ अंकले घटेर १२३३.२३ को विन्दूमा सीमित बन्न पुगेको हो । 

यो दिन कारोबार रकम पनि घटेर साढे २४ करोडमा सीमित बन्न पुगेको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ३.१ अंकले घटेको छ । यस्तै समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.१५ अंकको गिरावट आएको छ । 

साताको पहिलो कारोबार दिन होटल समूहमा २८.९५ अंकको बढोत्तरी भएको छ भने बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । 

बैंकिङ समूह १२.५१ अंकले घटेको छ भने विकास बैंक समूह १२.९९ अंक, जलविद्युत समूह २७.०५ अंक, बित्त समूह ६.५२ अंक, बिमा समूह ७२.४ अंक, उत्पादनमूलक ७.२३ अंक, अन्य समूह ९.१३ र माइक्रोफाइनान्स समूह २०.७६ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका ६ लाख ६४ हजार ५ सय २१ कित्ता सेयर २४ करोड ५० लाख ५३ हजार ७ सय ७० रुपैयाँमा कारोबार भयो । 

यो दिन ग्रामीण विकास लघुवित्त बित्तीय संस्थाले सबैभन्दा बढी २ करोड २७ लाख बढीको कारोबार गर्यो । यस्तै, उन्नति माइक्रोफाइनान्सले १ करोड ९६ लाख, एनएमबी बैंकले १ करोड ९४ लाख, नेपाल बैंकले १ करोड ३४ लाख, प्राइम लाइफ इन्स्योरेन्सले १ करोड २० लाख बढीको कारोबार गरेका छन् । यसैगरी, नवील बैंकको १ करोड २ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा मेगा बैंकले ८४ लाख, सिभिल बैंकले ७८ लाख, एनआइसी एशिया बैंकले ७५ लाख र एभरेष्ट बैंकले ६८ लाखको हाराहारीमा कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा तीन कम्पनीका लगानीकर्ताले कुस्त कमाएका छन् । यो दिन रादी जलविद्युत आयोजना र समता माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै ,उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले समेत ९ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाएका छन् । 

यो दिन प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो ।