- सञ्चिता घिमिरे

काठमाण्डौ । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) पाँच वर्षभित्र सम्पूर्ण काम सक्ने गरी समष्टिगत गुरुयोजना बनाएको छ ।

आयोजनाको हालसम्मको कार्य प्रगतिबारे जानकारी दिन उद्देश्यले सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा आयोजना प्रमुख शरदलाल श्रेष्ठले समष्टिगत गुरुयोजनामा कुनकुन काम कसरी र कुन समयमा गर्ने भनी सम्पूर्ण विवरण उल्लेख हुने बताउनुभयो । द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) स्वीकृत भइसकेकाले अब योजनाबद्धरुपमा काम अघि बढाइने सेनाको भनाइ छ । पहिलो चौमासिकमा उल्लेखनीय प्रगति हुन नसके पनि दोस्रो चौमासिकमा काम अघि बढ्ने उहाँको भनाइ छ ।

अबको १५–२० दिनमा गुरुयोजना बनेपछि आयोजना कसरी अघि बढाइने भन्ने प्रष्ट खाका आउने बताइएको छ । उहाँले भन्नुभयो, “पहिलो चौमासिकमा ठेक्का आह्वान गर्नेलगायतका काम भए पनि अबको दिनमा द्रुतरुपमा काम हुनेछ ।”

काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा रहेको सो मार्गको लम्बाइ ७२.५ किलोमिटर हुने डिपिआरमा उल्लेख छ । त्यसमध्ये झण्डै ४० प्रतिशतमा पुल र सुरुङमार्ग हुनेछ ।

आयोजनामा तीन वटा सुरुङमार्ग निर्माणमा नै सबैभन्दा बढी समय लाग्ने बताइएको छ । तीन सुरुङमध्ये सबैभन्दा लामो सुरुङको लम्बाइ तीन दशमलव पाँच किलोमिटर हुनेछ । सुरुङमार्ग निर्माणमा बढी समय लाग्ने हुँदा दुवैतर्फबाट निर्माण गर्ने गरी योजना बनाइएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

सुरुङ निर्माण सम्पन्न गर्न चार वर्ष पर्याप्त समय भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “१० देखि १२ वटासम्म ठेक्कामार्फत कामलाई अघि बढाइनेछ ।” पहिले ९६ वटा पुल निर्माण हुने भनिए पनि स्वीकृत प्रतिवेदनमा ८६ पुल निर्माण हुने उल्लेख छ । जटिल मानिएका ठूला १६ पुलको निर्माण आगमी वर्ष पुसमा शुरु हुनेछ भने ती बाहेकका अरु पुलको निर्माण आगामी भदौमा शुरु हुने बताइएको छ ।

चार लेनको सडकमा समथर भू–भागमा २७ मिटर चौडाइ र अरु ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीन वटा सुरुङको लम्बाइ छ दशमलव ४१ किलोमिटर र पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर हुनेछ ।

प्रारम्भिक जगको काम र परामर्शदाता छनोटपछि सडक निर्माणको काम अघि बढाउनका लागि चालू आवमा पाँच वटा ठेक्का सम्झौता भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । आयोजना निर्माणस्थलमा काट्ने र भर्ने काम (कटिङ एण्ड फिलिङ) र संरचना निर्माणको कामसमेत गत वर्षदेखि अघि बढाइएको छ ।

आगामी वर्ष असारसम्ममा यी काम सम्पन्न गर्ने सेनाको योजना छ । आगामी वर्षदेखि नै विभिन्न सडकमा कालोपत्रको समेत काम अघि बढाइने छ । आगामी वर्ष मङ्सिरमा कालोपत्र शुरु गरेर विसं २०८० असारसम्ममा सम्पन्न गर्ने सेनाको कार्ययोजना छ ।

आयोजनाअन्तर्गतका साना, मझौला र ठूला गरी सबै पुलको निर्माण २०८० मङ्सिरसम्ममा सम्पन्न हुनेछ । आगामी वर्षदेखि शुरु गरेर तीन सुरुङमार्ग विसं २०८० वैशाखमा सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सेनाको योजना छ ।

गुरुयोजनामा आयोजना कति वटा खण्डमा, कति ठेक्कामार्फत सम्पन्न गर्ने भनी उल्लेख हुने सैनिक मुख्यालयका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो । उहाँका अनुसार अहिले परामर्शदाता छनोटको कामसमेत अघि बढाइएको छ ।

गत वर्ष परामर्शदाता छनोट प्रक्रिया अघि बढाइए पनि प्राविधिक त्रुटिका कारण सूचना चुहावट भएको भनी रद्द भएको थियो । उहाँले भन्नुभयो, “केही समयमा परामर्शदाता छनोट भएसँगै निर्माणको काम पनि दु्रतरुपमा अघि बढ्नेछ ।”

भ्रमण वर्षमा पर्यटक भित्र्याउने सेनाको उद्देश्य

भ्रमण वर्ष २०२० का अवसरमा दौत्य सम्बन्ध कायम भएका देश र नेपाली सेनाको मिसन रहेका देशका पर्यटक भित्र्याउने उद्देश्यले विभिन्न कार्यक्रम गर्ने सेनाले योजना बनाएको छ । ती देशका नागरिकलाई विमानस्थलमा स्वागत गर्नेदेखि विभिन्न रोचक र साहसिक यात्रामा सहभागी गराउने योजना बनाइएको महासेनानी सुवास थापाले बताउनुभयो ।

फरकफरक महिनामा पदयात्रा, सगरमाथा सफाइ, लिगलिग दौड, जङ्गल सफारी, प्याराग्लाइडिङलगायतका कार्यक्रम छन् । उहाँले भन्नुभयो, “सरकारले २० लाख पर्यटक भित्र्याउने योजना बनाइएकामा हामीले पनि त्यसमै सहकार्य गर्न लागेका छौँ ।”

रक्षा प्रविधि प्रदर्शनीको आयोजना गरिने

महासेनानी भूपालमान अधिकारीले नेपाली सेनाका लागि आवश्यक प्रविधि विदेशबाट ल्याउने गरिएकामा त्यसलाई कम गर्न ‘रक्षा प्रविधि प्रदर्शनी’ गर्न लगिएको जानकारी दिनुभयो । विद्यार्थी, पेशाकर्मी र सेना समावेश गरिने सो प्रदर्शनीले सेनाका लागि आवश्यक प्रविधि स्वदेशमा नै विकास गर्ने सम्भाव्यताको खोजीका रुपमा हुने उहाँको भनाइ छ ।