काठमाण्डौ । विश्वकै दोश्रो ठूलो अर्थव्यवस्था चीनको निर्यातमा डिसेम्बर महिनामा भारि गिरावटका साथ २२१.२५ अर्ब डलरमा सीमित भएको छ । यो आँकडा डिसेम्बर २०१७ को तुलनामा ४.४ प्रतिशतले कम हो ।

नोभेम्बर २०१८ को तुलनामा डिसेम्बरमा चीनको निर्यात १.४ प्रतिशतले घटेको चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् ।
अमेरिकासँगको व्यापार युद्धका कारण चीनको निर्यातमा २ वर्षयताकै ठूलो गिरावट आएको बताइएको छ । 

यसले विश्वको दोश्रो ठूलो अर्थव्यवस्थामा लगातार जारी रहेको आर्थिक मन्दीलाई संकेत गर्ने एजेन्सीहरुको दाबी छ । 

चीनको सीमा शुल्क विभाग(सिएसी)द्वारा जारी आँकडाअनुसार डिसेम्बर, २०१८ मा निर्यात र आयातको दुवै क्षेत्रमा चीनको प्रदर्शन निकै खराब रह्यो । 

यो आँकडा अमेरिकासँग चीनको व्यापार युद्धपछि चिनियाँ अधिकारीहरुले अर्थव्यवस्थामा हुनसक्ने नोक्सानीको पूर्व अनुमान भन्दा पनि भयावह रहेको समाचारमा दाबी गरिएको छ । 

हङकङको साउथ चाइना मर्निङपोस्टले आफ्नो रिपोर्टमा भनेको छ कि चीनको अर्थव्यवस्थालाई गति दिनका लागि निकट भविष्यमै एक निकै ठूलो प्रोत्साहन प्याकेज दिन जरुरी छ । 

चीनको व्यापार आँकडामा देखिएको गिरावटकै कारण सोमबार एशियाका सेयर मार्केटमा गिरावट आएको थियो । यी आँकडाहरुबाट विश्वको दोश्रो ठूलो अर्थव्यवस्थाको तागत कसरी घटिरहेको छ भन्ने कुरा थाहा हुने समाचारहरुमा दाबी गरिएको छ । 

यसअघि २०१६ को डिसेम्बरमा सन् १९९० पछि चीनको अर्थव्यवस्थाको गति सबैभन्दा धेरै सुस्त रहेको थियो । त्यसपछिको ठूलो गिरावट २०१८, डिसेम्बरकै हो ।

गत साता चीन र अमेरिकाका अधिकारीहरुबीच तीन दिनसम्म वार्ता भएको थियो । व्यापार युद्धमा केन्द्रीत वार्ताले मार्च १ सम्ममा कुनै न कुनै समाधान निकाल्ने आशा गरिएको छ । अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले चीनसँगको विवादको हल निकाल्न मार्च १ सम्मको समयसीमा तोकेका हुन् ।