►रणध्वज लोहार
धरान । हप्ताअघि धरानमा ताइवानी महिलाको अमेरिकी डलरसहित नेपाली रुपैयाँ गायब भएको घटना ‘रहस्यमय’ बन्दै गएको छ । घटनाको गुत्थी पत्ता लगाउन प्रहरी असफल हुँदा बेखर्ची भएकी ताइवानी महिलाको कन्तबिजोग भएको छ भने सामाजिक अगुवाहरुले यो घटनाका कारण धरानमा पर्यटकहरु असुरक्षित छन् भन्ने गलत सन्देश गएकोमा चिन्तित देखिएका छन् ।  

पीडित ताइवानी महिला टिङ फाङ हुले शुक्रबार पैसा हराएको विषयमा खोजतलास गरी दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएकी छिन् । ताइवानी महिलाले गरेको उजुरीको विषयमा अनुसन्धान गर्न प्रहरीले चासो नदेखाएको धरानमा रहेका पीडितका आफन्तहरुको आरोप छ ।  

तीन हप्ताअघि धरानमा प्रेमीलाई भेट्न आएकी ताइवानी नागरिक टिङ फाङ हुको अमेरिकी डलर ३ हजार ६ सय रुपैंया र नेपाली नगद ४० हजारसहित महत्वपूूर्ण कागजपत्र हराएको थियो । उनी तीन साताअघि धरान १८ मंगलबारेमा रहेका प्रेमी नितेश विकलाई भेट्न आएकी हुन् । हराएको कुल रकम नेपाली रुपैयाँ लगभग ४ लाख हुुन आउँछ । 

पीडितका आफन्तले सुरुमा ताइवानी महिलाले उजुरी दिंदा आफूू असुरक्षित हुने ठानेर प्रहरीमा मौखिक उजुरी मात्र गरेका थिए । तर, प्रहरीले सो सम्बन्धमा कुनै चासो नदेखाएपछि शुक्रबार लिखित उजुरी दिएका हुन । उजुरी दर्ता गर्न समेत प्रहरीले आलटाल गरेको पीडितको भनाई छ । 

उजुरी दिएपछि धरान १८ मा रहेको उनका पे्रमीको आफन्तजनले पत्रकार सम्मलेन समेत गरेका छन् । प्रहरीले अनुसन्धानमा आलटाल गर्दै पैसा हराएको विषयलाई ओझेलमा पार्न खोजेको आरोप आफन्त मेयरमान हयुज गिरीले लगाएका छन् । पत्रकार सम्मेलनमा उनले भने–‘हामी प्रहरीमा न्याय माग्न भनेर गएका थियौ, तर उल्टै एक बालक कुटपिट गरेको भनेर घटनालाई ओझेलमा पार्न खोजियो ।’

प्रहरीले भदौ ४ गते बेलुकी ७ बजे धरान १५ कि सिटी सफारी चालक रिना तामाङ र उनका १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यही क्रममा तामाङका छोरालाई ताइवानी महिलाको आफन्त मेयरमानले कुटपीट गरेका भनेर आरोप लागेको छ । उनलाई वडा प्रहरी कार्यालय परिसरमा बालक कुटपिट गरेको आरोप छ । इलाका प्रहरी कार्यालय धरानमा भदौ ५ गते मेयरमानलाई कुटपिट गरेको आरोपमा प्रहरीले १४ हजार रुपैंयाँ तिराएर कुटपीटको विषयलाई मिलापत्र गराएको थियो । तर, पत्रकार सम्मेलनमा मेयरमानले आफूले प्रहरी कार्यालयमा त्यसरी बालक कुटिँदा स्वयम प्रहरी चाहिँ के हेरेर बस्यो त ? भनेर प्रश्न गरेका छन् । वडा प्रहरी कार्यालयका एक प्रहरीले समेत मेयरमानले बालकलाई कुटपिट नगरेको प्रष्ट्याएका छन् । कुटपिट नै नगरेको बिषयमा इलाका प्रहरी कार्यालयले के आधारमा १४ हजार तिरायो भन्ने बिषयले शंकालाई थप मलजल गरिदिएको छ । 

पत्रकार सम्मेलनमा उपस्थित लोकतान्त्रिक फोरम नेपालका केन्द्रिय सदस्य हस्त बहादुर विकले प्रहरीकै कमजोरीको कारण विदेशी पर्यटकको बिचल्ली भएको दाबी गरे । ‘विदेश पर्यटकको धरानमा पैसा हराएर बिचल्ली भएको छ, तर प्रहरी किन मौन ?’ 

पैसा हराएको विषयलाई बालक कुटपीट गरेको भनेर मोड्न खोजिएको भन्दै पीडितका आफन्तले घटनामा प्रहरी संलग्नताको आशंका गरेका छन् । 

गायक किसोर थुलुङले पनि धरानसँगै नेपालको प्रतिष्ठासँग जोडिएको विषय भएकाले प्रहरी चाँडो अनुसन्धान गरेर ताइवानी महिलालाई न्याय दिनु पर्ने बताए । होइन भने धरानमा अन्य पर्यटक आउने बातारण नहुने र गलत सन्देश जाने उनको भनाई छ । 

कानून व्यवसायी अबइन्द्र निरौलाले प्रहरीले मुख्य सवाललाई ओझेल बनाएर नेपाल र धरानको अन्तराष्ट्रिय बेइज्जत गर्न लागेको आरोप लगाएका छन । ‘प्रहरीले अनुसन्धान नगर्नुको कारण के ?’ कम्तीमा हराएको पैसाको विषयमा अनुसन्धान अविलम्व गर्नु पर्ने उनको भनाई छ ।

कसरी हरायो पैसा ? 
प्रेमी धरान १८ का नितेश हयूज विकको जन्मदिनको सरप्राइज गिफ्ट खरिद गर्न भन्दै भदौ ४ गते दिउँसो २ बजे बजार निस्केकी थिइन् । उनी धरान बजारमा आइपुगेपछि धरान १५ को बगरकोटमा पुगेको बुझिएको छ । अरुबेला समेत उनी त्यहाँ प्रेमीसँग घुम्न जान्थिन । बगरकोटको एक होटलमा पुगेर त्यहाँको होटलवालाले एक सिटी सफारीलाई बोलाएर पुन बजारमा ल्याएका थिए । उनी पुतली लाइनको एक गिटार पसलमा पुगेर गिटार खरिद गर्ने क्रममा कार्ड देखाएपछि सो कार्ड नचल्ने पसलेले जवाफ दिएका थिए । त्यसपछि सिटी सफारी चालकको सहयोगमा बराह ज्वलेरी इण्डष्ट्रिज प्रालिमा डलर सटही गर्न पुगेकी थिइन् । 

यसअघि बर्थ डे केक खरिदका लागि पनि अन्य स्थानमा हिँडेको बताइन्छ । बराहमा पैसा सटही लगभग साढे पाँच बजेको सेरोफेरोमा भएको एक कर्मचारीले बताए । उनीहरु त्यहाँ सिटी सफारी चालकसहित ३ जना महिला पुगेको अनि अर्को एक जना पुरुष समेत रहेको बराहको सिसि क्यामेरामा देखिएको छ । 

त्यहाँबाट पैसा सटही गरेपछि ताइवानी महिलासहित सिटी सफारी चालक सिधै धरान १५ स्थित सदन स्कूूल छेऊमा पुगेका थिए । त्यो बेला सदन स्कूल छेऊको एक पसलबाट क्यान बियर किनेर एउटा खाएको र अरु पनि झोलामा राखेको सफारी चालकको महिलाले बताएकी छन् । दिउँसो २ बजे धरान बजार आएकी ताइवानी महिलालाई प्रेमी नितेशका आफन्तले बेलुकी ७ बजे फोन सम्पर्क गर्दा सिटी सफारी चालक तामाङले सदन स्कूूलमा आफूूहरु रहेको र चिन्ता नगर्नु भन्दै सुरक्षित घरसम्म ल्याइदिने भनेर आश्वासन दिएको शुक्रवार पत्रकार सम्मेलनमा पीडितका आफन्तले बताए । तर, बेलुकी साढे सात बजे ताइवानी महिलाको पैसा हराएको भनेर तिनै सफारी चालक महिलाले फोनमा भनेकी थिइन् ।

सफारी चालकका महिलाले धरानको माछाभौडीमा पैसा हराएको सूचना दिएकी थिइन् । त्यो बेला आफूूहरु भानुचौकमा रहेको बताएकी थिइन् । सफारी चालक महिलाले दिएको जानकारी अनुसार माछाभौडीमा ती महिलासँग रहेको पर्स झरेपछि डलरसहितको नेपाली रुपैयाँ हराएको हो ।

सफारीबाट झरेको पर्सलाई २ जना युवाले बोलाएर दिएका थिए । उनीहरु पनि सफारी चालक नै भएको प्रहरीको भनाई छ । सदन स्कूूलबाट सफारी चालक महिलाको छोरा पनि सँगै आएका थिए । नेपाली रुपैयाँ हराएको खबर पाएपछि धरान १८ का नितेशका आफन्त पुगेका थिए । आफन्तलाई ताइवानी महिलाले पुलिसलाई खबर गरिदिनु भनेपछि वडा प्रहरी कार्यालय धरानलाई खबर गरेका थिए । प्रहरी त्यहाँ पुगेर सोधपुछ गरी तुरुन्तै वडा प्रहरी कार्यालयमा सफारी चालक धरान १५ का रिना तामाङसहित पर्स भेटाएर दिने २ जना युवालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । 

वडा प्रहरी कार्यालयले भने तुरुन्तै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा पठाएको थियो । प्रहरीले लिखित उजुरी नपरेकाले सामान्य रुपमा छलफल गरी पठाएको थियो । 

प्रहरी के भन्छ त ? 
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । ‘मौखिक उजुरीकै आधारमा अनुसन्धान जारी थियो अब लिखित उजुरी परेपछि झन् गहिरो अनुसन्धान गर्नेछौं।’ उनले भने । प्रहरीका अनुसार सिटी सफारी चालक धरान १५ की रिना तामाङलाइ तारिखमा छाडिएको छ । 

घटनाको क्रममा उनीसँगै रहेकाले पनि अनुसन्धानमा ल्याएको डिएसपी खतिवडाको भनाई छ । वास्तविकता के हो चाँडै पत्ता लाग्ने समेत उनले बताए । पैसा थियो थिएन अथवा पैसा हराएको या चोरी भएको हो, सो विषयमा पनि प्रहरी गहिरो अनु्सन्धानमा लागेको उनको दाबी छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीले ताइवानी महिलाको पैसा हराएको विषयमा आफैं लागेर गहिरो अनुुसन्धान गर्ने बताए ।