काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म जानकी फाइनान्सले निकै निराशाजनक वित्तीय विवरण प्रस्तुत गरेको छ । फाइनान्सको नाफा उल्लेख्य रुपमा कमी आएर वित्तीय अवस्था धराशायी बन्दै गएको संकेत गरेको हो । फाइनान्सको चालू आर्थिक वर्षका तेस्रो त्रेमासमा फाइनान्सको प्रगति वास्तवमा नै झुर देखिएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म फाइनान्सले २ करोड ६५ लाख ५४ हजार मात्र नाफा आर्जन गर्न सफल भएको हो । गत वर्ष सोही अवधिमा फाइनान्सले ६ करोड ८५ लाख २० हजार आम्दानी गरेको थियो । फाइनान्सको नाफा आधाभन्दा बढी अर्थात् ६१ प्रतिशतले कमी आएको हो । चालू आ.व.को दोस्रो त्रैमासमा नै कम्पनीले २ करोड ४० लाख ४० हजार नाफा आर्जन गरिसकेको थियो । पछिल्लो तीन महिनाको अवधिमा फाइनान्सले करीव २० लाख रुपैयाँ मात्र नाफा आर्जन गर्न सकेको हो । 


गत वर्षको भन्दा निकै कमजोर वित्तीय विवरण बिहीबार प्रकाशन गरेको फाइनान्सको तेस्रो त्रैमासमा धेरै सूचक निराशाजनक देखिएका हुन् । समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा तथा ब्याज आम्दानीमा उल्लेख्य रुपमा कमी आएको छ । फाइनान्सले समीक्षा अवधिसम्ममा ८ करोड ३० लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिसम्म ९ करोड ३१ लाख १ हजार आम्दानी गरेको थियो । 

यसैगरी फाइनान्सको सञ्चालन खर्चसमेत व्यापक बढेकाले सञ्चालन मुनाफा धेरै नै खुम्चिएको छ । फाइनान्सको यस वर्षको सञ्चालन मुनाफा ३ करोड ९१ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिसम्म फाइनान्सले ७ करोड ४२ लाख ७८ हजार सञ्चालन मुनाफा आर्जन गरेको थियो । 

कम्पनीका अधिकांश सूचकले निराशाजनक अवस्थाको चित्रण गरेका छन् । खराब कर्जा धान्न नसक्ने गरी बढेको छ । फाइनान्सको खराब कर्जा अनुपात मात्र १६ दशमलव ८३ प्रतिशत छ । जबकी गत वर्ष सो अनुपात ५ प्रतिशत मात्र रहेको थियो । यसले वित्तीय संस्था ज्यादै नै कमजोर देखिएको संकेत गरको छ । यसैगरी प्रतिशेयर आम्दानीमा समेत कमी व्यापक गिरावट आएर ६ दशमलव ५८ रुपैयाँमात्र कायम भएको छ । 

फाइनान्सको चुक्ता पूजी ४० करोड ३३ लाख ९३ हजार रहेको छ ।