-भक्तराज रसाइली
काठमाण्डौ ।  दोस्रो बजारमा हुने धितोपत्रको कारोबार राफसाफ तथा फछ्र्यौट २ कार्यदिनमा हुने भएको छ । 

केही समयअघि नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ कार्यदिन घटाउन नेप्सेलाई निर्देशन दिएको थियो । 

नेप्सेकी कामु उपप्रबन्धक प्रवीण पन्धाकको संयोजकत्वमा बनाइएको कमिटीले विभिन्न सरोकारवालाहरुसँग बसेको बैठक र लगानीकर्ताहरुको अभिमत लिंदै धितोपत्र कारोबार राफसाफको कार्यदिन २ दिनमा सीमित गर्ने गरी प्रतिवेदन तयार गरेको स्रोतको दाबी छ ।

यसअघि राफसाफको समय एक कार्यदिनमै गर्नुपर्ने बहस समेत भएको थियो । तर, राफसाफ समय १ दिन अलिक असम्भव भएकोले सबै पक्षको सहमति र सुझावका आधारमा २ कार्यदिन गर्न सकिने गरी प्रतिवेदन तयार गरिएको स्रोत बताउँछ । ‘यही हप्ता बस्ने कमिटीको बैठकले सो प्रतिवेदन बोर्डलाई बुझाउने तयारी गरिएको छ।’ बिजशाला स्रोतले भन्यो ।

हाल दोस्रो बजारमा धितोपत्र कारोबार राफसाफ चक्र ३ कार्यदिन रहेको छ । तीन कार्यदिनको चक्रले धितोपत्र र कारोबार रकमको जोखिम यथावत नै रहेका बेला २ कार्यदिनमा झार्दा थप पूर्वाधार विकासमा जोड दिइनुपर्ने जानकारहरुको भनाइ छ । 

धितोपत्र बजारमा कारोबार सम्पन्न भए पश्चात् खरिदकर्ताले बुझाउनुपर्ने रकम तथा बिक्रीकर्ताले बुझाउनुपर्ने धितोपत्रको निक्र्यौल गर्ने कार्य नै राफसाफ हो । 

नेप्सेमा कारोबार भइसकेको धितोपत्रहरु भुक्तानी फछ्र्यौट गर्नुपर्ने समय टिप्लस ३ भनिन्छ । हाल धितोपत्र कारोबार भएको तीन कार्यदिनभित्र कारोबार भएको धितोपत्र तथा रकमको राफसाफ तथा फछ्र्यौट हुनपर्ने व्यवस्था रहेको छ । टिप्लस ३मा राफसाफ तथा फछ्र्यौट हुनपर्ने व्यवस्था रहेको छ । 

टिप्लस ३ मा राफसाफ तथा फछ्र्यौट प्रक्रिया सम्पन्न गर्न टि प्लस २ अर्थात् कारोबार गरेको पर्सिपल्ट सम्ममा खरिदकर्ताले खरिद गरिएको धितोपत्र बापतको रकम बुझाउनपर्नेछ । त्यसपश्चात् टिप्लस ३मा बिक्रीकर्ताले रकम प्राप्त गर्नेछ र खरिदकर्ताले धितापत्र प्राप्त गर्नेछ ।