काठमाण्डौ । समग्र अर्थतन्त्रको सूचक विपरीत अस्वभाविक रुपमा बुलिस भइरहेको शेयर बजारका लगानीकर्तालाई सम्हालिएर लगानी गर्न नेपाल धितोपत्र बोर्डले दोश्रो पटक सचेत गराएको असर बजारमा पर्न थालेको देखिएको छ । 
 

धितोपत्र बोर्डको सूचनाले लगानीकर्तामा नकारात्मक प्रभाव पारी मंगलबार सामान्य करेक्सन भएको शेयर बजारको परिसूचक बुधबार ७.०६ अंकले ओरालो लागेर थप करेक्सनको बाटोतर्फ उन्मुख भएको छ । बोर्डले सचेत गराएपछि लगानीकर्ताहरु केही सम्हालिएका कारण सूचक ओरालोतर्फ लाग्न थालेको विश्लेषकहरुले बताएका छन् । 
 

बुधबार शेयर बजार परिसूचक(नेप्से) १३६२.९८ अंकमा आइपुगेको छ । बजार खुल्दा नेप्से परिसूचक १३७१.५७ अंकमा थियो र कारोबारको पहिलो हाफमा उकालो लागे पनि पछिबाट ओरालो लागी बन्द भएको हो । 
 

बुधबार शेयरबजारमा ९ लाख ५८ हजार कित्ता शेयरहरुको २ हजार ८ सय ८६ वटा कारोबारबाट किनबेच हुँदा बजारमा ६९ करोड ७९ लाख पूँजी परिचालन भयो । 
 

बुधबार सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः १.७६ र ०.४८ अंकले घटे । बुधबार वाणिज्य बैंक, विकास बैंक, बिमा समूहको परिसूचकमा रातो देखियो । होटल, हाइडोपावर र फाइनान्स समूहको सूचक हरियोमय भयो । होटेल साढे १२, जलविद्युत साढे १८ र फाइनान्स साढे ७ अंकले उक्लिए । सबैभन्दा धेरै बिमा समूहको परिसूचक ११७.१४ अंकले ओरालो लाग्यो ।