काठमाण्डौ । नियामक धितोपत्र बोर्डलाई सार्वजनिक रुपमै ठाडो चुनौति दिंदै शिखर इन्स्योरेन्सले पूँजीवृद्धि योजना(क्यापिटल प्लान) सार्वजनिक गरेको छ । यो बिमा कम्पनीले धितोपत्र बोर्डबाट जारी निर्देशिकामा भएको व्यवस्थाको पूर्ण बेवास्ता गर्दै दादागिरीको शैलीमा एफपीओ निश्कासनको विकल्पलाई समेत समावेश गरी नयाँ क्यापिटल प्लान सार्वजनिक गरेको हो । 

धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार कुनै पनि कम्पनीले एकपटक धितोपत्रको अतिरिक्त निश्कासन गरेको ५ वर्षपछि मात्र पुनः निश्कासन गर्न पाउँछ । यो व्यवस्था हुनुुभन्दाअगाडि कानूनी छिद्रको फाइदा उठाउँदै यो बिमा कम्पनीले एफपीओ प्रस्ताव गरे पनि सर्वत्र विरोधका कारण बोर्डले स्वीकृति दिइहालेको थिएन । शिखरले यसअघि एफपीओ निश्कासन गरेको २ वर्ष पनि पुुगेको छैन । यो कम्पनीले २०७२ मंसिर १७ गते ५ लाख १० हजार ९ सय ८८ कित्ता एफपीओ जारी गरेको थियो । 

शिखरले अँगालेको बाटो रोज्दै अन्य कम्पनीले पनि निकै छोटो अवधिमा एफपीओको प्रस्ताव गर्न थालेका र व्यवसाय गरेर नाफा वृद्धि गरी लगानीकर्तालाई बोनस बाँड्नुको साटो प्रिमियम मूल्यमा एफपीओ तोकेर जम्मा भएको रकम बोनसको रुपमा बाँड्ने र कम्पनीको प्रगति देखाउने गलत प्रवृति हाबी भएपछि एफपीओको यो विकृतिमाथि बोर्डले अंकुश लगाएको थियो । एफपीओको नाममा सर्वसाधारण लुटिएका र शिखरले पनि त्यही कामलाई निरन्तर गर्न खोजेको भन्दै बोर्डमा धेरै उजुरी पनि परेका थिए । 

यही विकृति अन्तका लागि बोर्डले धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ मा एफपीओ निश्कासनलाई कसेको थियो । तर, यो व्यवस्थाको बिषयमा थाहै नपाएजस्तो गरी शिखर इन्स्योरेन्सले क्यापिटल प्लान सार्वजनिक गरेपछि बोर्डकै अधिकारीहरु पनि रुष्ट देखिएका छन् ।  

बिमा समितिले २०७५ असार मसान्तभित्र निर्जिवन बिमा कम्पनीले चुक्तापूँजी १ अर्ब पुर्याउनुपर्ने भनेको छ । यही समयसीमामा पूँजी पुर्याउन शिखरले क्यापिटल प्लान सार्वजनिक गरेको हो । यो समयसीमाभित्रै आफूहरुले एफपीओ र बोनस सेयर जारी गरेर तोकिएको पूँजी पुर्याउने भन्दै सोही व्यहोराको क्यापिटल प्लान यो कम्पनीले नेपाल स्टक एक्सचेञ्जमा समेत बुुझाएको छ । 

यो बिमा कम्पनीको यसअघि सम्पन्न १२ औं वार्षिक साधारणसभाले प्रिमियम मूल्यमा १३ लाख ६२ हजार कित्ता एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । यो कम्पनीले दादागिरी शैलीमा हतार–हतार प्रति कित्ता प्रिमियमसहित १ हजार ६ सय २० रुपैयाँ मूल्य समेत तोकेर धितोपत्र बोर्डमा पत्र पठाएको थियो । 

बोर्डका एक अधिकारीका अनुसार नयाँ निर्देशिकाको व्यवस्थालाई पूर्ण बेवास्ता गरी शिखरले क्यापिटल प्लान सार्वजनिक गरी नियामकलाई ठाडो चुनौति दिने काम गरेको छ । ‘यसले त नयाँ निर्देशिका मान्दिँन भनेजस्तो पो देखियो ।’ बोर्डका एक अधिकृतले बिजशालासँग भने–‘हामी चूप लागेर बस्दैनौ, शिखरले कुनै पनि हालतमा एफपीओ जारी गर्नै पाउँदैन ।’ ती अधिकारीको दाबी अनुसार शिखरका लागि पूँजी वृद्धिको विकल्पको रुपमा कि त बोनस सेयर वितरण वा हकप्रदको बाटो उत्तम हुनेछ । 

यो कम्पनीको हालको चुक्तापूँजी ८१ करोड ५८ लाख रुपैयाँ रहेको छ। १८ करोड ४२ लाख पूँजी वृद्धि गर्न उसका लागि ठूलो कुरा हुनेछैन । तर, यति थोरै पूँजीवृद्धिका लागि समेत एफपीओको गैरकानूनी प्रस्ताव दोहोर्याएर पेश गर्नुले यो कम्पनीको हदैसम्मको गैरजिम्मेवार र अटेरीपन प्रतीत हुने बोर्ड कर्मचारी बताउँछन् ।