काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा चरम लापरबाही भएको धितोपत्र बोर्डले स्वीकार गरेको छ । 

शुक्रबार मागपत्र बुझाउन जाउलाखेल पुगेका लगानीकर्ताहरुको अगाडि बोर्डका प्रवक्ता निरज गिरीले अनलाइन प्रणालीमा चरम लापरबाही भएको स्वीकार गरेका हुन् । 

देशको सेयर बजारको नियामकले अनलाइन प्रणालीमा लापरबाही भएको भनी टिप्पणी गरेको यो पहिलोपटक हो । 

यसअघि अनलाइन कारोबार प्रणालीको बिषयमा लगानीकर्ता र अन्य निकायबाट निकै कटु टिप्पणी भए पनि बोर्डले मौनता साँध्दै आएको थियो । 

लगानीकर्ताको स्वतन्त्र दवाब समूहको मागपत्र बुझेपछि बोर्डका प्रवक्ता निरज गिरीले अनलाइन प्रणालीमा चरम लापरबाही भएको मात्र स्वीकारेनन्, यो बिषयमाथि अर्थमन्त्रालयमा कुरा गर्ने समेत आश्वासन दिए । ‘हाम्रो काम देखाउने ठाउँ पनि नेप्सेमै हो ।’ उनले लगानीकर्तासँग भने–‘अनलाइनमा भएको चरम लापरबाहीको बिषयमा बोर्ड चूप बस्दैन र बसेको छैन पनि ।’

लगानीकर्ताले उठाएको मागलाई सम्बोधन गर्ने क्रममा उनले मार्केट डिलरसीपको काम गर्न नागरिक लगानीकोषले तयारी थालेको र पूर्ण स्वचालित अनलाइन कारोबारको स्थायीत्वसँगै कोषले डिलरसीपको काम थाल्ने जानकारी दिए । उनले कम क्रेडिट रेटिङ पाएका कम्पनीलाई आइपीओ निश्कासनमा रोक लगाउने बिषयमा आवश्यक कानून संसोधनका लागि पहल गर्ने वचन समेत दिए । 

सो क्रममा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुुर कार्कीले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको स्थायीत्व र गुणस्तर कायम भएपछि मात्र गैरआवासीय नेपालीहरुले नेपालको सेयर बजारमा लगानी गर्ने जानकारी दिए । अहिले उनीहरु बजारमा आउन खासै इच्छुक नदेखिएका समेत उनले सो क्रममा खुलासा गरे । उनले समेत अनलाइन कारोबार प्रणाली प्रभावकारी नभएकोमा असन्तुष्टि पोखेका थिए । 

यस्तै, ब्रोकरहरुबाट मार्जिन ट्रेडिङको सेवा सुरु गर्ने भनिए पनि राष्ट्रबैंकले उठाएको केही इस्यूका कारण काम अड्किएको उल्लेख गर्दै त्यसलाई छिटो गराउन पहल भइरहेको बताए । उनले बजारको निरन्तर सुधारका लागि बोर्ड निरन्तर लागिरहेको र संवेदनशील रहेको उल्लेख गर्दै लगानीकर्ताले उठाएका बिषयप्रति आफूहरु गम्भीर र संवेदनशील रहेको समेत बताए ।