काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद रिक्त रहेको दुई साता बितिसक्दा पनि सरकारले पदपूर्तिका लागि पहल थालेको छैन ।

गत असोज २९ गतेबाट सेबोन अध्यक्षबाट रेवतबहादुर कार्की अवकाश पाएपछि यो पद रिक्त छ । कार्की २०७२ कात्तिकमा नियुक्त भएका थिए । चारवर्षे कार्कीको कार्यकाल २०७६ असोज मसान्तमा सकिएको हो ।

अध्यक्षको रिक्त पदपूर्तिका लागि सुरुमा सेबोनले खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गर्नुपर्ने हुन्छ । खुला प्रतिस्पर्धाबाट आएका उम्मेदवारमध्ये तीनजनालाई सबलिस्टलिङ गरिन्छ । त्यसपछि सेबोन, अर्थमन्त्रालयलगायतका निकाय विज्ञ प्रतिनिधि सम्मिलित भर्ना छनोट उपसमितिले योग्य उम्मेदवार छनोट गरी नियुक्त गर्न मन्त्रिपरिषद् नाम पठाउँछन् । मन्त्रिपरिषद् स्वीकृति भएपछि सेबोनले नयाँ अध्यक्ष पाउँछन् ।

यसैबीच नेपाल इभेस्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सेबोनमा रिक्त रहेको अध्यक्ष पदपूर्ति गर्न यथाशीघ्र पहल थाल्न सम्बन्धित निकायलाई जोडदार माग गरेको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालय र अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा सेबोन अध्यक्ष पदमा पुँजीबजारसम्बन्धी अध्ययन गरेका, अनुभवी, योग्य, प्राविधिक ज्ञान र सीपमा पूर्ण दखल भएका व्यक्ति नियुक्त गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा सेबोनमा अध्यक्ष यथाशीघ्र नियुक्त गर्दै पुँजीबजारमा रहेका समस्या समाधान गर्न पहल गर्न पनि सम्बन्धित निकायसँग माग गरिएको छ ।

फोरम अध्यक्ष छोटेलाल रौनियार र संघका अध्यक्ष उत्तम अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले उद्घोष गरेको आर्थिक विकास र समृद्धिको नाराले उत्साहित बनेका लगानीकर्ताहरु अर्थतन्त्रको ऐनका रुपमा रहेको सेयरबजार निरन्तर ओरालो लाग्दा निराश बनेको उल्लेख छ ।

सेयरबजार निरन्तर घटिरहँदा लगानीकर्ताको अर्बौंको सम्पत्ति गुमिसकेको अवस्थामा पनि जिम्मेवार निकाय बेखबरजस्तै बस्नुले लगानीकर्ता निकै मर्माहत र स्तब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।