काठमाण्डौ । पूँजीबजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न कम्तीमा  ८ जनाले दरखास्त दिएका छन् । 

अर्थमन्त्रालयबाट गठित छनौट समितिका अनुसार बोर्डको अध्यक्ष बन्नलाई दरखास्त दिने अन्तिम दिन शुक्रबार कार्यालय समयसम्ममा कम्तीमा ८ जनाको आवेदन परेको हो । 

बोर्डको अध्यक्षका लागि नेपाल राष्ट्रबैंकका पूर्व कार्यकारी सदस्य तथा धितोपत्र बोर्डका विज्ञ सदस्य भीष्मकुमार ढुंगाना लगायतको दरखास्त परेको छ । 

अध्यक्ष पदका लागि बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरजकुमार गिरी, उपनिर्देशक डा. नवराज अधिकारीको समेत दरखास्त परेको छ । 

बोर्डका अध्यक्षका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का पूर्व महाप्रबन्धक सीताराम थपलिया, पुराना तथा खारिएका ब्रोकर नरेन्द्र सिँजापति, दिल सारु मगर लगायतले समेत आवेदन दिएका छनौट समितिले जनाएको छ । 

डा. रेवतबहादुर कार्कीको कार्यकाल सकिएपछि रिक्त रहेको बोर्डको अध्यक्ष खुल्ला प्रतिस्पर्धाका आधारमा छनौट गर्ने भन्दै अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फूँयालको संयोजकत्वमा एक छनौट समिति कात्तिक २० गते बनाएको थियो । समितिमा राजश्व सचिव शिशिर ढुंगाना र इक्यान अध्यक्ष कृष्ण आचार्य रहेका छन् । 

अन्य केहीले पनि आवेदन दिएको बताइए पनि ती अनुहार चर्चित नभएको भन्दै अर्थले सूचना उपलब्ध गराएको छैन । 

दरखास्तको साथमा प्रत्येक उम्मेद्वारले ४ हजार शब्दमा नबढ्ने गरी धितोपत्र बोर्डसम्बन्धी कार्ययोजना पेश गरेका छन् । उनीहरुले पेश गरेको कार्ययोजनाका आधारमा छनौट समितिले सर्टलिस्ट तयार गर्नेछ । सर्ट लिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाइनेछ । त्यसपछि ३ उत्कृष्ट उम्मेद्वारको छनौट गरी समितिले अर्थमन्त्रालयमा पठाउनेछ । अर्थमन्त्रालयले ती नामहरुलाई निर्णयार्थ मन्त्रीपरिषदमा पेश गर्नेछ र मन्त्रीपरिषदले ती तीन नामबाट एकजनालाई धितोपत्र बोर्डको अध्यक्षको रुपमा छनौट गर्नेछ । 

कसले मार्ला बाजी ?
धितोपत्र बोर्डको अध्यक्षको पद रिक्त भएसँगै यसमा कसले बाजी मार्ला भनेर बजारमा अनेकन अड्कलबाजीहरु भइरहेका छन् । तर, अर्थमन्त्रालयले अध्यक्ष पद रिक्त हुनुअघिदेखि नै भावी अध्यक्षको रुपमा केही अनुहारहरुलाई तयार गरिरहेको यसअघि नै चर्चा भइसकेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाको व्यक्तिगत इच्छाका आधारमा अध्यक्ष छनौट हुने परिस्थिति सिर्जना भएमा भीष्म ढुंगानाले बाजी मार्ने स्रोत दाबी गर्छ । धितोपत्र बोर्डको अध्यक्ष बनाउने योजना अनुसार नै ढुंगानालाई अर्थमन्त्रीले विज्ञ सदस्य बनाएका बताइन्छ । 

तर, सत्तासीन दल नेकपाका अध्यक्ष प्रचण्ड निकट मानिने बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई पनि यसपटक प्रवल दाबेदारको रुपमा हेरिएको छ । उनलाई पूँजीबजारका विज्ञ समेत मानिएकोले यो बलियो पक्षले समेत उनको पल्ला भारि बनाउने संभावना छ । 

मगर पनि नेकपा निकटकै उम्मेद्वार मानिन्छन् । उनी बोर्डको पूर्व विज्ञ सदस्य समेत हुन् ।  

अध्यक्ष बन्ने दौडमा यसअघि समेत देखिएका बोर्डका प्रवक्ता निरज गिरीको अघिल्लो पटक झै यसपटक पनि संभावना न्यून रहेको स्रोत दाबी गर्छ । कार्यकारी निर्देशक र प्रवक्ताको रुपमा बोर्डमा रहँदा उनको छवि धूमिल बनेको छ । उनीमाथि बजारमा चलखेल गर्ने गरेको गम्भीर आरोपहरु लाग्दै आएको छ । यसआधारमा उनी अगाडि बढ्ने संभावना न्यून रहेको स्रोत दाबी गर्छ । 

यसपटक बोर्डको अध्यक्षका लागि खारिएका ब्रोकर सिँजापतिको समेत उम्मेद्वारी परेको छ । निश्पक्ष छनौट हुने हो र राजनीतिक आस्थाका व्यक्ति प्राथमिकतामा परेनन् भने सिँजापतिलाई समेत बलियो उम्मेद्वारको रुपमा हेर्न सकिने स्रोतहरु बताउँछन् ।