काठमाण्डौ । काभ्रेको धूलिखेल अस्पतालमा एक १० दिने सुत्केरीको मृत्यु भएको छ । 

अस्पतालका अनुसार १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भई घर फर्किएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलालाई सास फेर्न गाह्रो भएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना गरिएको थियो । 

अस्पतालमा भर्ना भएपछि उनको अवस्था खराब बन्दै गएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा ती महिलाको शुक्रबार राति मृत्यु भएको हो । 

अस्पतालमा ती महिलामा कोरोना संक्रमण रहेको हल्ला फैलिएपछि अहिले अवस्था केही असहज रहेका त्यहाँका चिकित्सकहरुले बताएका छन् ।

उनीहरुका अनुसार धुलिखेल अस्पतालमा भएको पीसीआर परीक्षणमा ती महिलाको स्वाब परीक्षणको पोजिटिभ रिपोर्ट आएको छ । तर, टेकूस्थित केन्द्रीय प्रयोगशालाले महिलाको नमूना पुनः संकलन गरी जाँच गरिरहेको र रिपोर्ट आइनसकेको बताइएको छ । 

कोरोना शंकास्पद महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । अस्पताल पूर्ण सिल गरी डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मी तथा सफाईकर्मीको समेत स्वाब संकलन थालिएको छ । अस्पतालका अधिकारी स्वास्थ्य मन्त्रालयको आधिकारिक सूचनाको पर्खाईमा रहेको छ । 

अस्पतालका प्रवक्ता  डा. सुमन ताम्राकारले एक बिरामीको निधन भएको पुष्टि गर्दै तिनको रिपोर्ट सोझै मन्त्रालय पठाइएको र रिपोर्टमा के छ आफूलाई थाहा नभएको दाबी गरे ।