अनुसन्धानकर्ताहरुले बुढ्यौलीबाट टाढै रहने उपायको नजिक पुगेको बताएका छन्। बुढ्यौलीबाट लामो समय बच्ने उपायबारे वैज्ञानिकहरुले हालै खुलासा गरेका हुन्। उनीहरुका अनुसार हामीले दैनिक खानेकुराको मात्रा घटाए मात्र पनि निरोगी रहन र बुढ्यौलीबाट बच्न सकिनेछ।

लामो समय बाँच्न र मर्ने बेलासम्म हृष्टपुष्ट हुन उत्पादक कम्पनीहरुले सेवा तथा वस्तुको उत्पादनमा अर्बौं रकम खर्च गरिरहेकै बेला वैज्ञानिकहरुको नयाँ अध्ययन सार्वजनिक भएको छ। शरीरको कोष बुढो भएपछि मानिस पनि बुढ्यौलीको शिकार हुन्छ र अनुहार लगायत शरीरका छालामा चाउरी पर्छ।

तर, क्यालोरीको मात्रा घटाउँदा शरीरको कोषमा असर गर्ने र यसले बुढ्यौली प्रक्रियालाई ढिलो बनाउने अध्ययनमा उल्लेख छ। कोषमा प्रोटिन बनाउने ‘रिबोसोम’ नाम गरेको तत्व हुन्छ जसले खानेकुराबाट प्राप्त प्रोटिनलाई शरीरका विभिन्न भागमा वितरण गरिदिन्छ। तर, रिबोसोम प्रक्रिया नै सुस्त भएमा प्रोटिन वितरणमा ढिलाइ भई वृद्ध अवस्था ढिलो आउने अध्ययनले देखाएको छ। रिबोसम सुस्त बनाउन खानेकुराको परिणाम पनि थोरै खानुपर्ने वैज्ञानिकहरुको सुझाव छ।

वैज्ञानिकहरुले मुसामा यो अध्ययन गरेका थिए। उनीहरुले मुसालाई दुई समूहमा विभाजित गरी अध्ययन गरेका थिए। जसअनुसार एउटा समूहको मुसालाई अत्यधिक खानेकुरा दिइएको थियो भने अर्को समूहका मुसालाई पहिलो समूहलाई भन्दा ३५ प्रतिशत न्यून क्यालोरी दिइएको थियो। तर, बाँच्नका लागि आवश्यक पोषण तत्व भने दुवैलाई बराबर दिइएको थियो। क्यालोरी कम दिइएका मुसाको आयु अन्यको भन्दा लामो पाइयो। थोरै क्यालोरीले जैविक र रसायनिक परिवर्तन भयो जसले वृद्ध हुने प्रक्रियालाई न्यून पारिदियो।

शरीरमा आवश्यक प्रोटिन निर्माण गरी कोषलाई सक्रिय बनाउनका लागि रिबोसोमले कोषको १० देखि २० प्रतिशत ऊर्जा खपत गरिदिने वैज्ञानिकहरुको भनाइ छ।

एजेन्सी