काठमाण्डौ । किन्नेको लर्को लागेपछि र बिक्री गर्ने नभेटिएसँगै जीवन बिमा उपसमूहकै सूचकमा सर्किट लागेको छ ।

नेप्सेका विभिन्न उपसमूहको सूचकै सर्किट लागेको यो निकै दुर्लभ घटना हो । लामो समयदेखि नबढिरहेको नेप्सेमा लगानीकर्ताले यस्तो घटना देख्न नपाएको पनि महिनौ भएको थियो । महिनौदेखिको अवस्थालाई क्रमभंग गर्दै जीवन बिमा समूहले पोजिटिभ सर्किट हानेको हो ।

जीवन बिमा समूहको सूचक ९.९२ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

समूहको सूचकसँगै ७ बिमा कम्पनीसहित ८ कम्पनीमा पोजिटिभ सर्किट लागेको छ ।

एशियन लाइफ, एलआइसी नेपाल, नेपाल लाइफ, प्राइम लाइफ, आइएमई जनरल इन्स्योेरेन्स, नेशनल लाइफ र निर्धन उत्थान लघुवित्तको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको हो ।

सूर्या लाइफ इन्स्योरेन्सको मूल्य ९.२९ प्रतिशतले बढेको छ भने राष्टिय बिमा कम्पनीको मूल्यमा ९.१३ प्रतिशतको वृद्धि देखिएको छ ।

जीवन बिमा कम्पनीमा सर्किट लाग्दा निर्जीवन बिमा समूहको सूचक ८ प्रतिशतको हाराहारीमा बढेको छ । यो समूहमा पर्ने कम्पनीमा समेत उच्च खरीद चाप रहेकोले सर्किट हान्ने संभावना देखिएको छ ।