काठमाण्डौ । बागलुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था र स्याङ्जाको वयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् ।

पोखरामा बुधबार दुवै संस्थाका मर्जर समितिका संयोजक र पदाधिकारीको उपस्थितिमा आपसमा गाभिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  यो मर्जर संम्झौतापछी संस्थाको नाम धौलागिरी आँधीखोला लघुवित्त वित्तीय संस्था रहनेछ ।

संस्थाको अध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका इश्वरलाल राजभण्डारी रहनेछन् । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा आँधीखोला लघुवित्तका डोलराज केसी र नायब प्रमुख कार्यकारी अधिकृतमा धौलागिरी लघुवित्तका शिवराम जोशी रहने समझदारी भएको बताइएको छ ।

मर्जरपछि संस्थाको कार्यालय पोखरा महानगरपालिका–९ मा रहनेछ । सयुंक्त कारोबार २०७७ वैशाख १ बाट गर्ने योजना रहेको बताइएको छ । मर्जरपछि चुक्ता पूँजी १७ करोड पुग्नेछ ।

धौलागिरी आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर पश्चात् ५५ शाखा कायम रहने छ। हाल धौलागिरीले ३६ शाखा मार्फत २८ हजार सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ भने आँधीखोला लघुवित्तले १९ शाखामार्फत १६ हजार सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको जनाइएको छ ।