काठमाण्डौ । विश्वकै सबैभन्दा छिटो उड्ने नागरिक बिमान निर्माणको काम सुरु भएको छ । यो बिमान निर्माणका लागि निकै ठूलो सहयोग राशि समेत प्राप्त भएको एजेन्सीहरुले जनाएका छन् । यो प्रोजेक्ट जब पूरा हुन्छ र भनिएजस्तो बिमान तयार हुनेछ, तब यो बिमानले केबल ६ घण्टामा अमेरिकाको लस एन्जेल्सबाट अस्ट्रेलियाको सिड्नी पुर्याउनेछ । 

बुम सुपुरसानिक नामको कम्पनीले तयार गर्दै गरेको XB-1 बिमान विश्वकै सबैभन्दा तेज गतिमा र सबैभन्दा उचाईमा उड्ने जहाज बन्नेछ । 

हाल अस्तित्वमा रहेका बिमानमध्ये सबैभन्दा छिटो उड्ने बिमानले समेत लस एन्जेल्सबाट सिड्नीको यात्रा पूरा गर्न १५ घण्टा समय लगाउँछ । तीव्र गतिमा उड्ने यो बिमान बनिसकेपछि विश्वको लामो दूरीको यात्रा आधाभन्दा कम हुनेछ । यसको अर्थ, तपाई काठमाण्डौबाट बिहान अमेरिकाका लागि उडेर आफ्नो काम सकी साँझ काठमाण्डौ नै फर्कन सक्नुुहुनेछ 

यो XB-1 आधुनिक बिमानलाई विशेष ढंगले डिजाइन गरिएको छ । यो बिमाले ६० हजार फिटको उचाईबाट समेत उडान भर्नसक्छ । यसरी यो बिमान ध्वनिको गति भन्दा पनि तीव्र गतिमा उड्नसक्नेछ । जानकारहरुका अनुसार ध्वनिको गतिभन्दा यो बिमा २ गुणा बढी रफ्तारमा दौडनेछ । आवाजको गति प्रति घण्टा २३३५ किलोमिटर रहेको मानिन्छ । 

बुम सुपुरसानिकलाई यो बिमान निर्माणका लागि हालै ४३ मिलियन डलरको सहयोग प्राप्त भएको छ । सुपर विमान निर्माणका लागि चाहि ३२९ मिलियन डलर खर्च हुने अनुमान गरिएको छ । कम्पनीले उडानका लागि महंगो दरमा टिकट बिक्री गरी लगानी उठाउने योजना बनाएको छ । यो बिमानमा ४५ सिट हुनेछन् भने प्रत्येक यात्रीले यो बिमानमा सफर गर्न ६ हजार ६ सय डलर मूल्य चुकाउनुपर्छ । 

XB-1 बिमानको भाडा निकै महंगो लागे पनि ठूला कारोबारीका लागि यो सस्तो हो । कारण, यदि तपाई ठूलो कारोबारी हुनुहुन्छ र तपाईका लागि समयको निकै ठूलो महत्व छ भने यो बिमानबाट यात्रा गरेर तपाईले विश्वको कुनै पनि कुनामा गएर आफ्नो काम सकी सोही दिन घर फर्कन सक्नुुहुन्छ ।