-भक्तराज रसाइली
काठमाण्डौं । नेशनल हाइड्रोपावर कम्पनीको नक्कली प्रमाणपत्रबाट प्रताडित एक महिला सेयर लगानीकर्ता उर्मिला घिमिरेको लडाइँ साढे ४ वर्ष बितिसक्दा समेत निश्कर्षमा पुग्न सकेको छैन । 

नक्कली प्रमाणपत्र बोकेर न्याय माग्दै धेरैको ढोकाहरु घचघच्याए पनि कतै सुनुवाइ भएको छैन । यतिसम्म कि विश्व लगानीकर्ता सप्ताह मनाउन केही दिनअघि सेयर बजारका सबै सरोकारवाला बानेश्वरमा भेला भएको अवसरमा समेत उर्मिलाले वर्षौदेखिको आफ्नो समस्या राखिन्, तर धितोपत्र बोर्डका अध्यक्षले यो बिषयमा आफूलाई जानकारी नै नभएको जस्तो नाटक देखाएका थिए । जब कि बोर्ड अध्यक्ष कार्कीलाई एकपटक होइन, उर्मिलाले आफ्नो समस्या समाधानका लागि पटक पटक अनुरोध गरिसकेको थिइन् ।

यो विषय यसअघि समेत धेरै मिडियाको समाचार मसला बन्यो । तर, उर्मिलाले अझै न्याय पाएकी छैनन् ।

काठमाण्डौं ३५ कोटेश्वर निवासी घिमिरेले नेशनल हाइड्रोपावरको सेयर ब्रोकर नम्बर ३८ बाट ७१ सालमा किनेको र सो सेयर एनबी ग्रुपका रबिन श्रेष्ठको नामबाट ब्रोकर नम्बर २५ बाट आएको थियो । 

उनले किनेका ५ सय कित्ता सेयरमध्ये जम्मा ३ वटा प्रमाणपत्र डिम्याट भएर आएको र बाँकी २ वटामा समावेश २ सय ५० कित्ता नक्कली फेला परेको थियो । ती सेयर लिष्टिङ्गभन्दा कसरी बाहिर गयो र नेप्सेले किन दियो भनेर नेशनल हाइड्रो कम्पनीका कर्मचारीले उल्टै आफूलाई प्रश्न गर्ने गरेको उर्मिलाको दाबी छ ।

घिमिरेले ३ पटकसम्म कम्पनीको सम्पर्कमा पुगे पनि चित्त नबुझेर नेप्सेमा मिति २०७२ फागुन ३ गते निबेदन दिइन ।  दर्ता नम्बर ४१६४ रहेको सो निवेदनमा सम्पूर्ण व्यहोरा खुलाई ‘लगानीको संरक्षण गराई पाउँ’ भन्ने अनुनय गरेकी थिइन् । तर उनको निबेदन र अनुनय उपर कुनै कार्यबाही नै भएन । 

धितोपत्र बोर्डमा दर्ता नम्बर ८०५७  रहेको र मिति २०७३ बैशाख ७ गते दिएको निबेदनमा समेत सबै व्यहोरा खुलाइएको थियो । सो बेला बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई भेट्न जाँदा आफ्नो कुरै नसुनी बाहिर धपाइएको गुनासो गरिन् । त्यसपछि पनि पटक–पटक भेट्न खोज्दा भेट्न नदिएको र अर्को निबेदन २०७४ जेठ २९ गतेको मितिमा दिए समेत गुनासो सुनुवाइ नभएको उनको दाबी छ ।

 

त्यसपछि पुनः नेप्सेमा गएर २०७५ जेठ १७ गते निवेदन दिएकी थिइन् । दर्ता नम्बर ३१४८ रहेको निवेदनमा क्षतिपूर्ति समेत मागिएको थियो । यो निवेदनपछि भने ब्रोकर, नेप्से र कम्पनी तथा स्वयम् लगानीकर्ताको बैठकबाट धितोपत्र बोर्डको निर्देशन भन्दै विशेश्वर सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । २०७५ असार १४ गते बसेको बैठकले छानबिन कमिटी गठन गरी त्यसको प्रतिवेदनपछि उपयुक्त निर्णय लिने निर्णय गरेको थियो । तर, त्यसपछि न त्यो समितिको प्रतिवेदन सार्वजनिक गरियो, न त उर्मिलाको समस्याको बिषयमा के निर्णय भयो भन्ने कुरा नै बाहिर आयो । 

उर्मिलाले आफूलाई एनबी ग्रुपका मेनेजर सुन्दरराज पुडासैनीले ५० कित्ता थपेर ३ सय कित्ता दिन्छु भन्दै टर्चर दिएको आरोप लगाइन् । आफूले महिनौदेखि नक्कली सेयर प्रमाणपत्रको लडाई लडिरहे पनि कतैबाट सहयोग नभएको र न्याय नपाएसम्म लडाई जारी राख्नेको उनको भनाई छ । 

घिमिरेले  आफूले न्याय नपाउनुमा धितोपत्र बोर्ड र नेप्सेका जिम्मेवार अधिकारीहरुको बेवास्तालाई दोष दिएकी छिन् । उनले यो प्रकरणमा नियामकका कतिपय अधिकारीहरुको दोषी कम्पनीसँग साँठगाँठ भएको हुनसक्ने भन्दै यो बिषयमा छानबिन गरिदिन अर्थमन्त्रालयलाई अनुरोध समेत गरेकी छिन् । 
घिमिरेको समस्याको बिषयमा बुझ्न खोज्दा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की तर्किए । यसैगरी, यो विषयमा कुरा बुझ्न खोज्दा नेप्सेका अधिकारीहरुले समेत बोल्न मानेनन् ।