काठमाण्डौ । नक्कली बैंक ग्यारेन्टी प्रकरणमा मुछिएका कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्बहादुर खत्री पदमुक्त भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार अबेर मन्त्री खत्रीलाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम पदमुक्त गरेको जनाएको छ।

१ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली बैंक ग्यारेन्टी प्रकरणमा निर्माण व्यवसायीसमेत रहेका खत्रीलाई उच्च अदालत पाटनले गत मंगलबार तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो । खत्री पदमुक्त भएपछि उनको मन्त्रालय मुख्यमन्त्री शाही आफैँले सम्हाल्ने भएका छन् ।

खत्रीलगायत पाँचजनामाथि बैंकिङ कसुरको आरोपमा विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । अरूलाई पक्राउ गरिए पनि मन्त्रीको हकमा केही नगरेको भन्दै उच्च अदालतले उनलाई तत्काल झिकाउन आदेश गरेको छ ।

उच्च अदालतको आदेशको समयसीमा आज शुक्रबारसम्म छ । खत्री काठमाण्डौमा छन् ।