काठमाण्डौ । विश्वको सर्वाधिक धनीको ताज खोसिएर दोश्रो स्थानमा बिल गेट्स झरेको लगभग तीन महिना भइसकेको छ । तर, फेरि पनि उनका लागि एउटा नयाँ खतरा पैदा भएको छ । उनलाई पुनः खतरामा पार्ने व्यक्ति अरु कोही नभएर उनकै नजिकका साथी रहेका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उनलाई चुनौति दिने व्यक्ति विगत २५ वर्षदेखि गेट्सकै साथी हुन् र यी दुईको मित्रता विश्वमै उदाहरणीय मानिन्छ । 

खासमा बिल गेट्सका  यी साथी अरु कोही होइनन्, उनी हुन् विश्वकै सबैभन्दा ठूला लगानीकर्ता तथा सेयर बजारका बादशाह वारेन बफेट । ब्लुमबर्गको बिलेनियर इण्डेक्सका अनुसार बफेट हाल ९२ अर्ब डलर सम्पत्तिको साथमा विश्वका तेश्रो धनी व्यक्तिको रुपमा रहेका छन् । उनको कम्पनी वर्कसायर हाथ्वे रेभेन्युको हिसाबले विश्वकै आठौ ठूलो कम्पनी हो, जुन विश्वका ठूला कम्पनीमा पैसा हालेर राम्रो कमाई गर्ने कम्पनीको रुपमा परिचित छ । वारेन बफेटको यो कम्पनीको लगानी एप्पल, कोकाकोला, आइबिएम जस्ता विश्वका ठूला कम्पनीहरुमा समेत रहेको छ । 

यसकारण बिल गेट्सका लागि खतरा बने बफेट
बिल गेट्स कयौं वर्षसम्म विश्वकै धनी व्यक्तिको रुपमा अडिरहे । तीन महिनाअघि मात्र बिल गेट्सको सर्वाधिक धनीको लामो इतिहास अन्त गर्दै अमेजन कम्पनीका संस्थापक जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । हाल बिल गेट्स ९४ अर्ब डलर सम्पत्तिको साथमा विश्वकै दोश्रो धनी व्यक्तिको रुपमा रहेका छन्, तर उनको यो ताज समेत खतरामा परेको छ । वारेन बफेट सम्पत्तिको हिसाबले उनीभन्दा मात्र २ अर्ब डलरले पछाडि छन् । 

पुरानो फोन प्रयोग गर्छन् बफेट
वारेन बफेटको साथमा अहिले पनि नोकिया कम्पनीको फ्लिप फोन रहेको छ । एक अन्तर्वार्ताको क्रममा बफेटले भनेका थिए कि सो फोन  एलेक्जेण्डर ग्राहमले उनलाई उपहारको रुपमा दिएका थिए । २०१३ को एक अन्तर्वार्ताको क्रममा उनले यो पनि बताएका थिए कि उनले कुनै पनि चिजलाई २० देखि ३० वर्षसम्म प्रयोग नगरी फालेका छैनन् । 

५९ वर्ष पुरानो घर
विश्वको तेश्रो धनी व्यक्ति भएर पनि वारेन वफेट अहिले पनि उस्तै जिन्दगी जिइरहेका छन्, जस्तो उनी सुरुवातका दिनहरुमा जिउँथे । बफेट आज समेत तीन बेडरुम भएको पुरानो घरमा बस्छन् र जुन घरलाई उनले सन् १९५८ मा ३१ हजार ५ सय डलरमा खरीद गरेका थिए । 

एकवर्षमा ५६०० किमी मात्रै गाडी कुदाउँछन्
बफेट सन् २०१४ सम्म क्याडिलक कार चलाउथे, जुन ८ वर्ष पुरानो  थियो । उनले अर्को एक अन्तर्वार्तामा भनेका थिए कि उनी एकवर्षमा कारमा ५६०० किलोमिटर दूरीको मात्र यात्रा गर्छन् । यहीकारण पनि आफूले उति चाँडो नयाँ कार खरीद गर्ने नगरेको उनले जिकिर गरेका थिए । जनरल मोटर्सका सीइओले बफेटलाई उनको कारलाई अपग्रेड गर्न राजी गराएका थिए, त्यसपछि मात्र उनले क्याडिलक २००६ डिटिएसलाई नयाँ क्याडिलक एक्सटिएस लिएर विस्थापन  गरेका थिए ।